निर्जीवन बीमा ब्यवसाय ७.८०% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक

१२ फाल्गुन २०८१, सोमबार १५:२८

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।
चालु आर्थिक वर्षको ७ महिनामा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यता, गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा आक्रामक देखिएको छन् ।

यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय ८.१६ प्रतिशतले बृद्धि भएर तीन अर्ब १३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँको ब्यवसाय गरेको थियो ।

सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ९.९३ प्रतिशतले बृद्धि भएर दुई अर्ब ९३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८२ प्रतिशतले बढेर दुई अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

वृद्धिदरको आधारमा बीमा शुल्क आर्जन:

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणको आधारमा

साथै, समिक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय गत आवको तुलनामा ४.५० प्रतिशतले बृद्धि भएर २ अर्ब २ करोड रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्स पनि ब्यवसाय ४.०६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

गत आवको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ब्यवसाय २.८४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड, एनएलजि इन्स्योरेन्सको १२.९२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, द ओरियन्टलको ४३.६८ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको २.६७ प्रतिशतले बढेर एक अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४४ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ३.३८ प्रतिशतले घटेर ९४ करोड रुपैयाँ रहेको छ भने, युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय ८ प्रतिशतले घटेर एक अर्ब ४० करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५ प्रतिशतले घटेर १ अर्ब र नेशनल इन्स्योरेन्सको ०.१५ प्रतिशतले घटेर ६९ करोडमा सीमित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*