बीचमै बीमा पोलिसी त्याग्ने कारण खोज्दै प्राधिकरण, अध्ययन टोली गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी त्याग कसरी भईरहेको छ भन्ने बिषयमा अध्ययन गर्ने प्रकृया अघि बढाएको छ । प्राधिकरणले जीवन बीमक संघ, प्राधिकरणका पदाधिकारी र विज्ञहरुको टोली नै गठन गरेर यस बिषयमा अध्ययन गर्ने प्रकृया अघि बढाएको हो ।
बीमा पोलिसी सरेण्डरको दर बढेसँगै प्राधिकरणले यस बिषयमा चासोका साथ हेर्न थालेको छ । प्राधिकरणले बीमा पोलिसी किन बढी मात्रामा त्याग भएको हो भन्ने बिषयमा अध्ययन टोली समेत गठन गरेको र सो मार्फत अध्ययन गराईरहेको बुझिएको छ । प्राधिकरणले जीवन बीमक संघ, प्राधिकरणका पदाधिकारी र विज्ञहरुको टोली नै गठन गरेर यस बिषयमा अध्ययन गर्ने प्रकृया अघि बढाएको प्राधिकरणले जनाएको छ ।
ऐनमै बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था रहँदा यस्तो दर बढेको सरोकारवालहरुको भनाइ छ । पोलिसी सरेण्डर गर्दा बीमितका साथै बीमा कम्पनीलाई समेत घाटा पर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् ।
बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ । बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्दा भने सरेण्डरको समस्या नआउने शर्माको भनाइ छ ।
बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको समितिले बताउँदै आएको छ । र, यस्तो दरको कारण पत्ता लगाउन अध्ययन भईरहको प्राधिकरणले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत बर्ष १३ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएका छन् भने चालु आर्थिक बर्षको ६ महिनामा ७ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएको देखाइएको छ ।
प्राधिकरणले अध्ययन टोलीले गरेको प्रतिवेदनको आधारमा पोलिसी सरेण्डर रोक्ने कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने माध्यम पनि हेर्ने तयारी गरिएको बुझिएको छ । सो पश्चात् हाल बीमा पोलिसी सरेण्डर भएको कारण र समस्या हेर्ने तयारी गरिएको बीमा प्राधिकरणका एक अधिकारीले बीमापोष्टलाई बताएका छन् ।
प्राधिकरणको जीवन बीमालेख निर्देशिका अन्तर्गन बीमा पोलिसी कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । प्राधिकरणले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो ।
प्राधिकरणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख समर्पण सम्बन्धी व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख समर्पण गर्नसक्ने व्यवस्था छ ।