कार्य सम्पादन उत्कृष्ट हुँदा सुशिल देव सुवेदी १९ वर्षपछि बीमा प्राधिकरणको सर्वोच्च पदमा, कासमुमा पाए ४९ अंक

२३ माघ २०८१, बुधबार २३:२६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले दोस्रो बरियतामा रहेका शुसिलदेव सुवेदीलाई कार्यकारी निर्देशक पदका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यससँगै सुवेदीले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको सर्वोच्च पद (प्रशासनिक रुपमा) मा पुग्न सफल भएका छन् ।

२०६३ साल बैशाख ३ गते सहायक निर्देशकका रुपमा नेपाल बीमा प्राधिकरणमा प्रवेश गरेका सुवेदीलाई १८ बर्ष १० महिना सेवा गरेपछि प्रशासनिक रुपमा सबैभन्दा उच्च कार्यकारी निर्देशक बन्न सफल भएका छन् । बीमा प्राधिकरणको कर्मचारी बिनियमावली २०६८ अनुसार कार्य सम्पादनमा मूल्याङ्कनमा उत्कृष्ट नम्वर पाएकोले सुवेदी आफूभन्दा झण्डै चार बर्ष सिनियर कमलराज रेग्मीलाई पछाडि पर्दै कार्यकारी निर्देशक बन्न सफल भएका हुन् ।

 

२०७० साल जेठमा उप निर्देशक बनेर अघि बढेका सुवेदी २०७६ साल बैशाखमा निर्देशक पदमा बढुवा भएका थिए । पछिल्लो समय करिब छ वर्षदेखि निर्देशक रहेका सुवेदी प्राधिकरणभित्र अब्बल मानिन्छन् । बीमा प्राधिकरणमा गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशकमा लोकसेवाको प्रक्रिया पुरा गरी नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न पदपूर्ति समितिले आज सिफारिस गरेको हो ।

२०६० सालमा पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका सुवेदी २०६३ सालमा तत्कालिन बीमा समितिमा सेवा प्रारम्भ गरेका थिए । अध्ययन अब्बल रहेका सुवेदीले स्नातकोत्तरमा प्रथम श्रेणी हासिल गरेजस्तै कार्य सम्पादनमा पनि उत्कृष्ट श्रेणी हासिल गर्दा सफलता चुम्न सफल भएका छन् ।

लोकसेवाका प्रतिनिधिको रोहबरमा प्राधिकरणको पदपूर्ति समितिले माग गरेको निवेदन अनुसार कमलराज रेग्मी, सुशिल देव सुवेदी र पुजन ढुंगेल (अधिकारी) तीन जनाको मूल्याङ्कन गरिएको थियो । सो क्रममा कार्य सम्पादन मूल्याङ्कन, जेष्ठता, शैक्षिक योग्यता र तालिम समेतको आधारमा मूल्याङ्कनको क्रममा सुवेदीले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा उत्कृष्ट ४९ नम्वर पाएपछि प्राधिकरणको कार्यकारी निर्देशक बन्न सफल भएका छन् । कासमुको कूल ५० पूर्णाङ्कमा सुवेदीले ४९ नम्वर पाएका छन् । पछिल्लो पाँच बर्ष मध्ये सुवेदीले एक वर्ष मात्रै ९० र अन्य वर्ष १०० अंक पाएको देखिएको छ । पाँच वर्षअघिदेखि प्राधिकरणमा सिलबन्दी अवस्थामा रहेको कार्यसम्पादन मूल्याङ्कन बुधबार लोकसेवाको रोहबरमा खोलेर हेर्दा यस्तो देखिएको थियो ।

२०७६ सालमा निर्देशकमा बढुवा भएपछि सुशिल सुवेदी र पुजन ढुंगेल (फाइल तस्विर)

छनौटको आधार कार्यसम्पादन मूल्याङ्कनमा ५० अंक, जेष्ठतामा ३० अंक, शैक्षिक योग्यतामा १७ (१४ प्लस ३) अंक र तालिममा ३ अंक छुट्याइएको थियो । सो अनुसार कासमुमा ४९ अंक, शैक्षिक योग्यतामा १४ अंक, जेष्ठतामा १४.१९४ अंक प्राप्त गरी कूल ७७.१९४ अंक प्राप्त गरी सुवेदी उत्कृष्ट हुन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*