आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छौ: सभामुख घिमिरे

११ माघ २०८१, शुक्रबार ११:४४

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् । चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा विहीबार बेलुका काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो धारणा राखेका हुन् ।

‘असल मित्र र निकट छिमेकीको रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै वृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छ,’ उनले भने, ‘यस सन्दर्भमा नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौं ।’

नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न सभामुख घिमिरेले आह्वान पनि गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*