राष्ट्रिय वाणिज्य बैंकको ६ दशकको यात्राः ग्राहक विश्वास र समृद्धिको सहयात्रा

१० माघ २०८१, बिहीबार १२:५७

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाको ५९औं वर्ष सफलतापूर्वक पूरा गरी ६०औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लि. वि.सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैंक हो । सर्वसाधारण जनतामा बैंकिङ आदतको विकास गरी वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै राष्ट्रिय पुँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि उद्योग व्यवसायको विकासमा वित्तीय मध्यस्थताका रूपमा कार्य गर्दै नेपालको वर्तमान बैंकिङ प्रणालीको एक अगुवा बैंकका रूपमा सञ्चालनमा रहेको छ । साबिक राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापना भई बैंकसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार वि.सं. २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजतपत्र प्राप्त यस बैंकले वित्तीय संस्थाका रूपमा बैंकिङ कारोवार गर्दै आएको छ ।

यस बैंकले आफ्नो ६ दशक लामो इतिहासमा विविध आरोह अवरोह पार गर्दै अघि बढिरहेको छ । बैंकिङ सेवाको विस्तार, सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह, प्राकृतिक तथा अन्य विपत्तिहरूमा समेत बैंकिङ सेवामा निरन्तरता जस्ता विशेषताहरू लिएको यस बैंकले वि.सं.२०५८ सालमा लागु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रमुख परिसूचकहरूमा उल्लेख्य सुधार गर्दै हाल नेपालको बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रूपमा क्रियाशील रहँदै आएको छ । नेपाल सरकारको स्वामित्व भन्नु नै नेपाली जनताको स्वामित्व हो भन्ने अवधारणाका आधारमा ’तपाइँको आफ्नै बैंक’ भन्ने नारासहित नेपालीलाई सरल, सुलभ, विश्वसनीय एवम् प्रविधियुक्त वित्तीय सेवा प्रवाह गर्ने अठोट पूरा गर्न बैंकले पञ्चवर्षीय राणनीतिक योजना २०२० – २०२५ तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ । बैंकले आफ्ना क्रियाकलापलाई सुस्पष्ट दिशानिर्देश गर्न निम्नानुसारका दूरदृष्टि, ध्येय तथा मूल्यमान्यतालाई अनुसरण गर्दै आएको छ ।

वित्तीय सूचकमा अब्बल

गत आव २०८०/८१ मा दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकले आव २०७५÷७६ देखि नै बैंकिङ क्षेत्रमा उल्लेखनीय मुनाफा आर्जन गर्दै मुनाफा आर्जनलाई निरन्तरता दिएको छ । आर्जित नाफाबाट आव २०७५/७६ मा १२.० प्रतिशत नगद लाभांश, आव २०७६/७७ मा ४.५० प्रतिशत (२ प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश), आव २०७७/७८ मा ३३.० प्रतिशत (३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश), आव २०७८/७९ मा १२.५० प्रतिशत (५.० बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश) र आव २०७९/८० मा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनीलाई समेत प्रतिफल दिन सफल भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार २०८१ असार मसान्तमा बैंकको अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी रु. १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सरकारी राजस्वमा योगदान

बैंकले आर्जन गरेको नाफाबाट प्रचलित कानुनबमोजिम नेपाल सरकारलाई आयकर भुक्तानी गर्नुका साथै व्याज कर तथा स्रोतमा कर कट्टीलगायतका कार्य गरी सरकारको राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्दै आएको छ ।

आयकरबापत नेपाल सरकारलाई गत आ.व. २०५०/५१ मा रु. १ अर्ब ७५ करोड, आ.व. २०७९/८० मा रु.२ अर्ब १८ करोड, आ.व. २०७८/०७९ मा रु. १ अर्ब ७९ करोड ४० लाख दाखिला गरेको छ भने आ.व. २०७४/०७५ मा बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्न संस्थामध्येमा सबैभन्दा बढी आयकर दाखिला गरेबापत आठौँ राष्ट्रिय कर दिवस २०७६ का अवसरमा नेपाल सरकारबाट सम्मानसमेत प्राप्त गरेको छ ।

देशभरका ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित २९४ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ शाखारहित बैंकिङ एकाइमार्फत बैंकले आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । सङ्घीय संरचना अनुरूप सातै प्रदेशमा प्रादेशिक कार्यालयहरूमार्फत ग्राहक सेवालाई छिटो र प्रभावकारी बनाइएको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरूप चालु आर्थिक वर्षसम्ममा शाखा सङ्ख्या ३३० पुरÞ्याउने लक्ष्य रहेको छ । ग्राहक, विभिन्न तहका सरकार, नियामक निकाय तथा सर्वसाधारणको सहयोग तथा भरोसाका कारण यो बैंक ठुलो शाखा सञ्जालसहित अग्रणी वाणिज्य बैंकका रूपमा सञ्चालित छ ।

भावी कार्ययोजना

वित्तीय बजारमा प्रतिस्पर्धी रहिरहन बैंकले पुँजी आधार तथा व्यावसायिक क्षमता विस्तार, बैंकिङ सेवाको गुणस्तरमा वृद्धि, आवश्यक नीति नियमको तर्जुमा, सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष सुदृढीकरण, बैंकिङ तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, डिजिटल तथा भौतिक माध्यममार्फत वित्तीय सेवा पहुँचमा विस्तार, सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण, कर्मचारीको कार्यदक्षता अभिवृद्धि, रेमिट् यान्स कारोबारमा बैंकको हिस्सा वृद्धि, नेपाल सरकार तथा नियामक निकायका नीति नियमको पूर्ण पालना गरी सरल, पारदर्शी, प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*