वाणिज्य बैंकहरुको सम्पत्ति ७२ खर्ब नजिकः धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?

१० माघ २०८१, बिहीबार १२:३०

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब नजिक पुगेको छ । बैकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकको कुल सम्पत्ति ७१ खर्ब ९६ अर्ब ८१ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको हो । एक वर्षको अवधिमा मात्र बैंकको सम्पत्ति २ खर्ब ९९ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ थपिएको हो ।

बैंकहरुको कुल सम्पत्ति गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९६ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ । यसअवधिमा बैंकको कुल सम्पत्ति ५.९१ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब २४ करोड ८७ लाख रुपैयाँ रहेको छ । वर्षदिनको अवधिमा कम्पनीको सम्पत्ति ३५ अर्ब ७३ करोड ६ लाख रुपैयाँले बढेको हो ।

धेरै सम्पत्ति हुने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकसँग हाल ५ खर्ब ८५ अर्ब ४८ करोड ४ लाख रुपैयाँको सम्पत्ति रहेको छ । जुन आर्थिक वर्षको तुलनामा ५.११ प्रतिशतले बढी हो । गत पुषदेखि चालु पुषसम्म (१२ महिना) मा कम्पनीको सम्पत्ति २ खर्ब ८४ अर्ब रुपैयाँले बढेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पत्ति ५ खर्ब ३३ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २६ अर्ब, कुमारी बैंकको ४ खर्ब ३६ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब ९ अर्ब, प्रुभ बैंकको ३ खर्ब ६७ अर्ब, हिमालयन बैंकको ३ खर्ब ६६ अर्ब, नेपाल बैंकको ३ खर्ब ६४ अर्ब, एनआईसी एशिया बैंकको ३ खर्ब ६४ अर्ब, एनएमबि बैंकको ३ खर्ब २२ अर्ब, कृषि विकास बैंकको ३ खर्ब २० अर्ब, एभरेष्ट बैंकको ३ खर्ब १४ अर्ब र सिद्धार्थ बैंकको ३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

साथै, प्राइम बैंकको २ खर्ब ९० अर्ब, सानिमा बैंकको २ खर्ब ४६ अर्ब, सिटिजन बैंकको २ खर्ब २७ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब २२ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ९९ अर्ब र स्टान्र्डड चार्टड बैंकको १ खर्ब ५१ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।

१९ वटै वाणिज्य बैंकको कुल सम्पत्ति बढ्दा एनआईसी एशिया बैंकको भने घटेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा आइपुग्दा बैंकको सम्पत्ति ११.२८ प्रतिशतले घटेर ३ खर्ब ६४ अर्ब १५ करोड रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*