राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता तान्दै

९ माघ २०८१, बुधबार १०:५३

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि आज माघ ९ गते ९० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्ने भएको हो।

राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोलको व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थाहरूसँग उक्त रकम संकलन गर्ने जानकारी दिएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्।

बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदर प्रणाली पनि अपनाउन सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप २१ दिनको हुनेछ र माघ ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*