बिवाईडीको नयाँ जहाज ‘शेनजेन’ समुद्रमा उतारियो, ९,२०० गाडी बोक्ने क्षमता
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बिवाईडीको नयाँ जहाज ‘बिवाईडी शेनजेन’ समुद्रमा उतारिएको छ । यो जहाज ९,२०० गाडी बोक्ने क्षमता सहित विश्वकै ठूलो कार करियरको रूपमा स्थापित भएको छ । ईभी क्षेत्रको यस कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारका लागि यो कदम चालेको हो।
गत वर्ष, बिवाईडीले ४२.५ मिलीयन नयाँ ऊर्जा गाडी बिक्री गरी २०२३ भन्दा ४० प्रतिशत वृद्धि हासिल गरेको थियो। यसमा इलेक्ट्रिक गाडी र प्लग–इन हाइब्रिड्स समावेश छन् । यो वृद्धिले बिवाईडीलाई फोर्ड, होन्डा, र निसान जस्ता विश्वव्यापी अटो निर्माता कम्पनीहरूलाई पछि पार्दै अग्रस्थानमा पु¥याएको छ ।
बिवाईडीको चौथो रो–रो जहाजको रूपमा ‘शेनजेन’ समुद्रमा यात्रा गर्न तयार भएको हो ।यसअघि २०२४ मा कम्पनीले तीनवटा अन्य जहाज सञ्चालनमा ल्याइसकेको छ । पहिलो जहाज ‘बिवाईडी एक्सप्लोरर नम्बर १’ जनवरी २०२४ मा समुद्रमा उतारिएको थियो, जसले युरोपका स्पेन, जर्मनीजस्ता मुलुकहरूमा सफल यात्रा गरिसकेको छ ।
दोस्रो जहाज ‘बिवाईडी चाङ्झाउ’ गत डिसेम्बरमा सञ्चालनमा आएको थियो, भने तेस्रो जहाज ‘बिवाईडी हेफेई’ ले गत हप्ता समुद्र यात्रा सुरु ग¥यो । यी जहाजहरूले ७,००० गाडी बोक्ने क्षमता राख्छन्। ‘बिवाईडी हेफेई’ ले पहिलो यात्रामा ५,००० नयाँ ऊर्जा गाडी बोकेको थियो ।
‘बिवाईडी शेनजेन’ नाम यसको गृहनगरबाट लिइएको हो । यो जहाज ९,२०० गाडी बोक्ने क्षमतासहित मात्र नभई, वातावरणमैत्री प्रविधिले पनि सुसज्जित छ। पहिलो पटक यसमा बिवाईडीका बक्स–टाइप ब्याट्री प्याक र सफ्ट –बेल्ट जेनेरेटर जडान गरिएको छ।
गत वर्ष, बिवाईडीले १.७७ मिलियन गाडी उत्पादन गरेको थियो, जसले टेस्लालाई झन्डै ४,५०० युनिटले पछि पार्दै बिवाईडीलाई विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बनाएको थियो।
चीनमा नयाँ प्रतिस्पर्धीहरू थपिँदै गर्दा, बिवाईडीले आफ्नो बजार विस्तारलाई तीव्रता दिएको छ। जापान, दक्षिण कोरिया, मेक्सिको, ब्राजिल, युरोप, सिंगापुर, र थाईल्याण्डजस्ता देशहरूमा गाडी भित्र्याएर बिवाईडीले नयाँ ऊर्जा गाडीहरूको अन्तर्राष्ट्रियकरण प्रक्रिया अघि बढाइरहेको छ।
थाईल्याण्डमा जापानी अटो निर्माताहरूको बजार हिस्सा दुई वर्षमा ९० प्रतिशतबाट ७६ प्रतिशतमा झरेको छ, जसको मुख्य कारण बिवाईडीको उपस्थिति हो। यस वर्ष, बिवाईडीले दक्षिण कोरियामा ४२०,००० मूल्यमा आफ्नो पहिलो ईभी सुरू गर्दै घरेलु बजारमा ह्युन्डाई र कोरियालाई चुनौती दिएको छ ।