हिमालयन, प्रभु र एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको डन्डा, किन परे कारबाहीमा ?

८ माघ २०८१, मंगलवार १०:५७

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले नियामकीय परिपालना उल्लंघन गरेको आरोपमा तीन वाणिज्य बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। हिमालयन बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जाको व्यवस्थापन र जोखिम भार निर्धारणमा त्रुटि गरेपछि कारबाहीको निर्णय गरिएको हो।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकलाई वार्षिक साधारण सभाको अनुमोदन प्रक्रिया उल्लंघन गर्दै सञ्चालक नियुक्ति गरेकोमा सचेत गराइएको छ। निरीक्षणका क्रममा निर्देशनको पालनामा कमजोरी देखिएपछि बैंकलाई आगामी दिनमा सुधार गर्न निर्देशनसमेत दिइएको छ।

हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण र नोक्सानी व्यवस्थामा लापरवाही गरेको पाइएकाले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो। बैंकले जोखिम भारित सम्पत्ति गणनामा त्रुटि गर्दा नियामकीय परिपालना प्रभावित भएको पाइएको छ।

एनआईसी एशिया बैंकले सञ्चालक र सम्बन्धित व्यक्तिहरूलाई उच्च ब्याजदर प्रदान गरेको तथा कतिपय खाता पुरानो मितिमा कायम गरी खुलाएको पाइएको छ। राष्ट्र बैंकले सम्बन्धित व्यक्तिहरूलाई थप व्याजदर फिर्ता गर्न लगाएको छ। साथै, बैंकले कर्जा वर्गीकरण, पुँजी पर्याप्तता र संस्थागत सुशासनसम्बन्धी निर्देशनको पालना नगरेको पाइएपछि कारबाही गरेको छ।

राष्ट्र बैंकले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन सबै बैंकलाई सुधार योजना लागू गर्न र नियामकीय निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*