एउटा गाडी हुँदाहुँदै शिखरका मेयर बलायरले फेरी ५२ लाखको सवारी किन्दै, एम्बुलेन्स भने अलपत्र
काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाले प्रमुख दिर्घ बलायरको एउटा गाडी हुँदाहुँदै अर्काे सवारी किन्नका लागि बजेट छुट्याएको छ । नगरको १६औं अधिवेशन मार्फत् मेयर बलायरलाई अर्को गाडी किन्न ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
नगरकी उपप्रमुख सुनिता जोरा रावलले आर्थिक मन्दिलगायतका विषयले सीमित बजेटका बाबजुत महत्वपूर्ण क्षेत्रमा मात्र बजेट विनियोजन गरेको बताएकी थिएन् । तर, मेयरको गाडी महत्वपूर्ण बजेट भित्र परेको देखिएको छ । यो निर्णय नगरबासिहरूको ध्यान आकर्षित गर्दै व्यापक विवादको कारण बनेको छ ।
प्रमुखको एउटा गाडी हुँदाहुँदै अर्का गाडी किन्न बजेटमा परेपनि एकमहिनादेखि विग्रिएको एम्बुलेन्स मर्मतमा नगरको ध्यान गएको छैन । नगरमा एम्बुलेन्सको बिग्रिएको हुँदा नगरबासिहरूलाई समस्या भोग्नु परेको छ । ‘एम्बुलेन्स बिग्रिएको एक महिना भइसकेको छ । यसको मर्मतका लागि कुनै कदम हालसम्म चालेको छैन । यसले नगरबासिहरूलाई स्वास्थ्य सेवामा कष्ट दिएको छ । खासगरी आपतकालीन स्थितिमा एम्बुलेन्सको अभावले अन्य नगरपालिका र अस्पतालको सहारा लिनुपर्ने अवस्था आएको छ । तर पालिकाले मेयरको गाडीको विषयमा बजेट हाल्न सक्ने अनि २०।२५ लाखको एम्बुलेन्स किन्न नसक्ने हुन्छ’ नगर स्रोतले बतायो ।
‘हामीलाई स्वास्थ्य सेवाका लागि एम्बुलेन्स चाहिएको छ । गाडी होइन । पालिकाको प्रमुखलाई यो कुरा बुझ्नुपर्छ’ एक स्थानीय बासिन्दाले बताए । साथै, एम्बुलेन्सको भाडा सम्बन्धी पनि विवाद उठेको छ । कोराल खोला बाट दिपायल सम्म र अडेउलबाट दिपायलसम्मको भाडा २००० रुपैयाँ लिइन्छ, जबकि यी दुई स्थानमा करिब ९ किलोमिटरको फरक रहेको छ । यस भेदभावपूर्ण भाडाले पनि नगरबासिहरूमा असन्तुष्ट छन् ।
नगर प्रमुख दिर्घ बलायरले पहिलो गाडी निकै थोत्रो भएको हुँदा अर्का गाडी किन्न लागेको बताए । उनले भने, ‘अहिले भएको गाडी निकै थोत्रो भइसकेको छ । नगरबासीका सेवामा अफरोड जाँदा गाडी पटक–पटक बिग्रिन्छ । गाडीको ढोका समेत डोरले बाध्नु परेको छ । त्यसैले नयाँ गाडी किन्न लागेको हो ।’
एम्बुलेन्समा भने ठुलो बजेट चाहने हुँदा अबको केहि दिन भित्र वडा अध्यक्षसँग बैठकमा बसेर निर्णय लिने बलायरले बताए । ‘एम्बुलेन्स बिग्रिएको मर्मत गर्ने सकिएको छैन । एम्बुलेन्स पनि किन्ने तयारी छ । पहिला भन्दा रकम बढी लाग्ने रहेछ तर एउटा कुरो के मेयरलाई गाडी नचाहिने हुन्छ । एम्बुलेन्स बारे अबको केहि दिनमा वडा अध्यक्षहरुसँग छलफलमा बसेर यसबारे निर्णय लिने छौं ।’
सर्वसाधारणको आधारभूत आवश्यकता अन्र्तगत पर्ने एम्बुलेन्स बिग्रिएको बेला मेयर बलायरले अर्का गाडी खरिदका लागि बजेट छुट्याउनु प्रमुखको नेतृत्व र प्राथमिकताका बारेमा गम्भीर प्रश्न उठेको छ ।