होन्डाका गाडी असुरक्षितः एयरब्यागमा गम्भीर त्रुटिका कारण दुर्घटना जोखिम
काठमाडौँ । होन्डाका गाडी गुणस्तरहीन रहेको तथ्य बाहिर आएको छ । कम्पनीका गाडीमा दुर्घटना जोखिम रहेको पाइएको हो । अन्तर्राष्ट्रिय स्तरमा एयरब्याग सुरक्षासम्बन्धी समस्या बाहिर आएपछि होन्डाले २००१ देखि २०१४ सम्मका विभिन्न मोडेलहरूमा समस्या रहेको भन्दै गाडी फिर्ता बोलाएको छ ।
एयरब्याग सुरक्षाको गम्भीर त्रुटिका कारण होन्डाले आफ्नो सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र एकोर्ड जस्ता मोडेलहरूका गाडी फिर्ता बोलाएको छ । १७ अङ्कको भेहिकल आइडेन्टिफिकेसन नम्बरको माध्यमबाट गाडीमा समस्या छ कि छैन भनेर पुष्टि गर्न सकिने जनाइएको छ । यस समस्याले गाडी चलाउँदा आकस्मिक दुर्घटना हुने खतरा रहेको हो । उक्त गाडीमा भारतमा एसेम्बर भएका हुन् ।
कम्पनीले करिब १० वर्षपछि मात्र गाडीमा समस्या रहेको बताउँदै फिर्ता बोलाएको छ । तर, गुणस्तर कमजोर रहेकै कारण योबीचमा कतिको ज्यान उक्त गाडीले लियो यो चासोको विषय बनेको छ । उक्त असुरक्षित गाडीमा नेपालमा समेत बिक्री हुँदै आइरहेको छ ।
नेपालमा होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि हो । वितरकले गुणस्तरहीन गाडी बिक्री गर्दै आएको विषयले ग्राहकहरूको सुरक्षामा प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय बजारमा त्रुटिपूर्ण गाडी फिर्ता बोलाए पनि नेपालमा यसबारे प्रभावकारी कदम चालिएको छैन ।
नेपालमा बिक्री भइरहेका गाडीहरूको सुरक्षामा ध्यान दिनुको सट्टा कम्पनीले आफ्नो बिक्रीलाई मात्र प्राथमिकता दिएको देखिन्छ । गाडीका यी त्रुटिहरूले ग्राहकको ज्यान जोखिममा पर्ने संभावना उच्च छ । यस प्रकारको लापरवाहीले उपभोक्ताको विश्वास घटाउने मात्र होइन, ठूलो क्षति निम्त्याउन सक्छ ।
नेपालमा उपभोक्ता संरक्षणसम्बन्धी कानुन भए पनि यसको कार्यान्वयन कमजोर छ । अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना ग्राहकहरूको सुरक्षामा बढी ध्यान दिने भए पनि नेपालजस्ता देशहरूमा उनीहरूको उपस्थिति कम देखिन्छ । यसले ग्राहकलाई जोखिममा राख्ने र सुरक्षालाई दोस्रो प्राथमिकतामा राख्ने स्थिति सिर्जना गरेको छ ।