मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो

७ माघ २०८१, सोमबार ११:१४

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९.७९ प्रतिशत वृद्धि भएको छ।

बैंकले गत आवको दोस्रो त्रैमासमा ४२ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ५० करोड ३१ लाख रुपैयाँ पुगेको हो। चालू आवमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो।

बैंकको सञ्चालन नाफा गत आवमा ६१ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ७१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा २ अर्ब ८ करोड ७७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

चुक्तापूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ५४ करोड २८ लाख र रिजर्भमा ३ अर्ब ३५ करोड २९ लाख रुपैयाँ रहेको छ। बैंकले ९५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ खर्ब १२ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*