माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिशेयर आम्दानी सामान्य बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ०.२४ प्रतिशत वृद्धि भएको हो।
बैंकले गत आवको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर ८० करोड ७३ लाख रुपैयाँ पुगेको हो। चालू आवमा सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो।
सञ्चालन नाफा गत आवमा १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै गत आवमा २३ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज १४ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ पुगेको हो।
चुक्ता पूँजी ११ अर्ब ६२ करोड रहेको बैंकको शेयर प्रिमियम ३ करोड, रिटेन्ड अर्निङ १६ करोड ६२ लाख र रिजर्भमा ६ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको छ। ग्राहकमा प्रवाहित कर्जा १ खर्ब ३४ अर्ब ६१ करोड र निक्षेप संकलन १ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ छ।
बैंकको प्रतिशेयर आम्दानी ३ पैसाले बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २ पैसा र खराब कर्जा ४.५४ प्रतिशत रहेको छ।