बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौः अर्थमन्त्री पौडेल

६ माघ २०८१, आईतवार १६:०९

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै उनले, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु ।’

बैंकिङको लगानी सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंक निरन्तर समन्वय गरि रहेको पौडेलले बताए । उनले अर्थतन्त्र डुबे र बैंक डुबे भन्ने सबै कुरा हल्ला मात्र रहेको प्रष्ट पारे । ‘बैंकहरु डुबे भन्ने हल्ला चलाइरहेको मान्छे छन् । समस्या भए समाधान खोज्ने काम हुन्छ । तर, बैंक डुबे भन्ने छैन’ अर्थमन्त्री पौडेलले भने ।

‘पुँजीगत खर्च प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनु पर्छ । दिगो र गुणस्तर काम हुनु जरुरी छ ।’

अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाका बारेमा प्रष्ट पार्दै सरकार अर्थतन्त्रलाई सही दिशा दिन प्रतिबद्ध रहेको बताएका छन्। उनले तथ्यांक सार्वजनिक गर्नमा मन्त्रालयले कुनै प्रकारको हेरफेर नगर्ने स्पष्ट गर्दै भने, “डेटामा चिटिङ हुँदैन। हरियो डेटा छ भने पनि सार्वजनिक हुन्छ, रातो डेटा छ भने पनि।” उनले सरकारको आगमनसँगै नकारात्मक आर्थिक सूचकलाई सुधार गर्दै सकारात्मक मार्गतर्फ अघि बढाइएको उल्लेख गरे।

अर्थमन्त्रीका अनुसार सरकारको प्रमुख उद्देश्यहरु पूरा गर्न अध्यादेश जारी गरिएको हो। उनले अध्यादेशका विषयमा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै यसले आर्थिक सुधार र स्थायित्वका लागि भूमिका खेल्ने धारणा राखे। साथै, उनले वर्तमान आर्थिक सुधारलाई सरकारको सन्तुलित नीति र कार्यान्वयन क्षमताको नतिजा भने।

बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा समन्वयको अभावले समस्याहरु ल्याएको उनको भनाइ छ। उनले भने, “नीति तथा कार्यक्रम एक अर्थमन्त्रीले बनाउँछन्, बजेट अर्कोले र कार्यान्वयनमा तेस्रोले काम गर्छन्। यसले प्रभावकारितामा कमी आएको छ।” उनले आगामी दिनमा यी समस्याहरु समाधान गरी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*