भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ उद्घाटन, १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक हुने
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ उद्घाटन गरेका छन्। तीन विभिन्न स्थानमा आयोजना गरिएको पाँच दिने यो प्रदर्शनीमा १०० भन्दा बढी नयाँ गाडी मोडेल, अटोमोबाइल कम्पोनेन्टहरू र अत्याधुनिक प्रविधि सार्वजनिक हुने छ।
कार्यक्रममा प्रधानमन्त्री मोदीले सुजुकी मोटर कर्पोरेसनका पूर्वअध्यक्ष स्व.ओसामु सुजुकी र टाटा सन्सका अध्यक्ष एमेरिटस स्व। रतन टाटाको योगदान सम्झँदै उनीहरूको योगदानले भारतीय मोबिलिटी क्षेत्रलाई प्रेरणा दिने बताए।
प्रधानमन्त्री मोदीले देशको अटोमोबाइल क्षेत्रलाई तीव्र गतिमा अगाडि बढाउनका लागि विभिन्न कारणहरू प्रस्तुत गरे। “भारतको ठूलो जनसंख्या, बढ्दो मध्यम वर्ग, तीव्र शहरीकरण, पूर्वाधारको विकास, र ‘मेक इन इंडिया’ अभियानले अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन दिनेछ,” उनले भने।
मोदीले गत वर्ष मात्र सरकारको पूर्वाधार विकासका लागि ११ लाख करोड रुपैयाँ विनियोजन गरेको र त्यसले गाडीको मागमा ठूलो वृद्धि ल्याएको बताए। “आज देशभरि राजमार्ग र एक्सप्रेसवेहरूको जालो छ। यसले गाडीको मागलाई तीव्र वृद्धि गरिरहेको छ,” उनले थपे।
प्रधानमन्त्रीले ‘पीएम गति शक्ति’ योजना अन्तर्गत बहु(मोडल कनेक्टिभिटीलाई बल पुगेको र यसले भारतलाई सबैभन्दा प्रतिस्पर्धात्मक देश बनाउँदै यातायात लागतलाई कम गर्ने दाबी गरे। उनले भने, “यसले अटोमोबाइल क्षेत्रका लागि थुप्रै नयाँ ढोका खोल्नेछ।”
मोदीले ईभी, हाइड्रोजन इन्धन, र बायोफ्युल प्रविधिको विकासलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, “हामी राष्ट्रिय इलेक्ट्रिक मोबिलिटी मिसन र ग्रीन हाइड्रोजन मिसनमार्फत आयातमा निर्भरता कम गर्न काम गरिरहेका छौं।”
उनका अनुसार भारतमा ईभीको बिक्रीमा पछिल्लो दशकमा ६४० प्रतिशत वृद्धि भएको छ। “१० वर्षअघि वार्षिक २६०० ईभी बिक्री हुन्थ्यो। तर, २०२४ मा यो संख्या १६.८ लाखभन्दा बढी पुगेको छ। अहिले एकै दिनमा जति ईभी बिक्री हुन्छ, त्यो १० वर्षअघि वार्षिक बिक्रीभन्दा दोब्बर हो,” उनले बताए।
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ तीन स्थानमा आयोजना गरिएको छः भारत मण्डपम र यशोभूमि (दिल्ली) तथा इण्डिया एक्सपो सेन्टर एन्ड मार्ट (ग्रेटर नोएडा)। यो प्रदर्शनीमा ५,१०० अन्तर्राष्ट्रिय सहभागी र पाँच लाखभन्दा बढी आगन्तुकहरू आकर्षित हुने अपेक्षा गरिएको छ।
यस प्रदर्शनीको मुख्य आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ गाडी र प्रविधिहरू सार्वजनिक हुनेछन्। साथै, अटो कम्पोनेन्ट शोमा ६० भन्दा बढी नयाँ उत्पादन र प्रविधि प्रक्षेपण हुनेछन्।
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ नयाँ प्रविधि, नवप्रवर्तन, र हरित ऊर्जाको प्रदर्शनमार्फत भारतीय अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने ठानिएको छ।