पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ।
समस्याग्रस्त भइसकेको संस्थालाई ३५ दिनको समय दिँदा यसले थप जोखिम निम्त्याउने भन्दै सफाइका लागि १५ दिनभन्दा बढी समय दिनुहुन्न भन्ने पक्षमा बहुमत सदस्यले अडान राखेपछि गभर्नर बाध्य हुनुभयो। पोखरा फाइनान्सलाई १५ दिनको समयभित्र सफाइ कुर्ने तयारी भएको बुझिएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले १४.४४ प्रतिशत खराब कर्जा देखाएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा ४१.०७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
फाइनान्सको पुँजीकोष ८.५७ प्रतिशतले ऋणात्मक भइसकेको राष्ट्र बैंकले आफ्नो तथ्यांकमा राखेकाले स्थिति थप खराब रहेको देखिन्छ। यसको प्राथमिक पुँजीकोष ७१ करोड ११ लाख रूपैयाँले ऋणात्मक रहेको छ।
यस आधारमा हेर्दा शीघ्र सुधारात्मकसम्बन्धी राष्ट्र बैंकको व्यवस्थाले पनि पोखरा फाइनान्स समस्याग्रस्त घोषणा गरी टेकओभर गर्नुपर्ने चरणमा रहेको देखाउँछ।