शेयर धितो कर्जामा नबिल र ग्लोबलबीच कडा टक्कर, एसबीआई र माछापुच्छ्रे आक्रामक, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा वाणिज्य बैंकहरूबाट ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०।०८१ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ३५.५७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो । १६ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने ३ बैंकले घटाएका छन् ।
यसअवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक १८९०.७३ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा एसबिआई बैंकको कर्जा लगानी ४७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, माछापुच्छे बैंकको शेयर कर्जा लगानी १०३.२९ प्रतिशतले बढेर ९५ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ९१.४४ प्रतिशतले बढेर ७ अर्ब ९० करोड १८ लाख रुपैयाँ र कुमारी बैंकको ८५.४१ प्रतिशतले बढेर ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
मंसिर मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधमा कुल ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी २.७८ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले शेयर धितो कर्जामा ११ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो ।
ग्लोबल आइएमईले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले शेयर धितो कर्जाको लगानी ७७.८७ प्रतिशतले बढाएको हो ।
यसअवधिमा नेपाल बैंकले ७७.४५ प्रतिशतले बढाएर ७ अर्ब ९१ करोड, प्राइम बैंकको ३७.२८ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड, सिटिजन बैंकको ४४.९२ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड, राष्ट्रिय वाणिज्य बैंकको १.३८ प्रतिशतले घटेर ४ अर्ब २० करोड, प्रभु बैंकको ११.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड, लक्ष्मी सनराइजको ११.१४ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ प्रतिशतले बढेर ३ अर्ब ८ करोड, एनआइसी एशियाको ४२.२५ प्रतशितले घटेर २ अर्ब ५३ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।
यता, शेयर कर्जा लगानी सानिमाको २ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब ९३ करोड, हिमालयन बैंकको १ अर्ब ८३ करोड र एनएमबि बैंकको १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।