चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ कर तिरेनन्, तीन वटा कम्पनीको विवरण नै अलपत्र
काठमाडौं । चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर नतिरी छली गरेको फेला परेको छ । कालु गुरुङका दुई वटा फर्म तथा कम्पनी र एक सहकारी संस्थाले २०७३ सालदेखि करोडौं रुपैयाँ कर नतिरी राज्यलाई ठगी गर्दै आएको तथ्य बीमापोष्टले फेला पारेको छ ।
कालु गुरुङ सञ्चालक रहेको रोडशो डेभलपर्स प्रा.लि., रोडशो होटल र सेन्ट्रल बहुउद्देश्यीय सहकारी संस्थाको नाममा आर्थिक कारोबार गरी ति फर्महरुबाट लाभ समेत लिई कर भने तिरेका छैनन् । कालु गुरुङका तीन वटै कम्पनीहरुले आव २०७३ सालदेखि कर नतिरी छली गर्दै आएको पाइएको छ । साथै ति कम्पनीहरुको आयव्यय विवरण समेत दाखिला गरिएको छैन ।
रोडशो डेभलपर्स प्रा.लिको नाममा थुप्रै ठाउँमा जग्गाहरु समेत राखेको बताइन्छ । हदबन्दी छल्न धेरै वटा कम्पनी खोलेर जग्गा राखेका कालु गुरुङको नाममा थुप्रै हाउजिङ कम्पनी, पोखरा र काठमाडौंमा जग्गा व्यवसाय रहेको छ ।
कालु गुरुङ सत्ताको आडमा घरजग्गा र कालोधनको कारोबार गर्ने व्यक्ति हुन् । उनले केही अघि प्रधानमन्त्री केपी ओलीको पार्टी नेकपा एमालेलाई अर्बौ रुपैयाँका जग्गा दान गर्ने भाट भटेनीका मिन बहादुर गुरुङलाई कीर्तिपुरको जग्गा रजिष्ट्रेशन पास गरी दिएका थिए ।
नेपाल सरकारलाई तिर्नुपर्ने कर बक्यौता राखिएको सम्बन्धमा जिज्ञाशा राख्दा गुरुङले ति कम्पनीहरु जमानामा नै बन्द भइसकेको बताए । उनले भने, ‘होटल पहिला नै बन्द भइसक्यो, अडिटरलाई बन्द गर्नु भनेर दिएको थिए, बाँकी भए तत्कालै म मान्छे पठाएर सबै क्लीयर पार्न लगाउँछु ।’