कमलादीको स्काई टावर चलेन, आम्दानीमा संकटपछि आइपीओ निकालेर रकम संकलन गर्ने योजना

२८ पुष २०८१, आईतवार १७:३३

काठमाडौँ । घाटा रहेका कम्पनीहरुमा आइपीओ ल्याउने लहर नै चलेको छ । वित्तीय रुपमा कमजोर भएर संकटमा रहेका कम्पनीहरु सर्वसाधारणबाट पैसा उठाएर मालामाल हुने उद्देश्यले धमाधम वार्षिक साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिरहेका छन् । यस्तै मध्यको एक कम्पनीको हो काठमाडौंको कमलादीमा स्काईवाक टावर बनाएको वोन्डर्स नेपाल ।

कम्पनीको पछिल्लो व्यापार निरन्तर खस्किदै गएको केयर एज रेटिङ नेपालको तथ्याङ्कमा देखिएको छ । कमलादीको स्काई टावरले कूल व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको देखिएको छ । दैनिक दुई हजार भिजिटरलाई चढाउने क्षमता राख्ने टावरमा हाल दैनिक करिब २ सयले पनि अवलोकन नगर्ने गरेको तथ्यले देखाएको छ । पछिल्लो समय टावर जस्तै अग्लो धरहरा सञ्चालनमा आएसँगै कम्पनीको आम्दानीमा थप गिरावट आउने देखिएको छ । महङ्गो शुल्क र टावरमाथि ३० मिनेटमात्र घुम्न पाउनेभएपछि ग्राहक घट्दै गएका छन् ।

स्काइवाक टावरका लागि कम्पनीले प्रतिव्यक्ति १ हजार रुपैयाँको टिकट बेच्दै आएको छ । जबकी धरहरामा प्रतिब्यक्ति २०० रुपैयाँ मात्र शुल्क लाग्छ । सोही कारण पछिल्लो समय स्काईवाकको व्यापारमा धक्का लागेको देखिएको छ ।

एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार र मासिक ६० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ । तर कम्पनीले सन् २०२४ मा १ लाख १० हजार भन्दा कम मानिसलाई स्काइ वाक टावर चढाएको केयर रेटिङको प्रतिवेदनमा उल्लेख छ । यो कम्पनीको कुल सामथ्र्यको करिव १५ प्रतिशत मात्र हो । टावरमा चढ्ने मान्छे निरन्तर घट्दा कम्पनी दिनप्रति दिन संकटतिर धकलि रहेको छ ।

 

 

केयर एज रेटिङ नेपालका अनुसार कम्पनी सन् २०२४ सम्मको आर्थिक विवरणले यसको वित्तीय अवस्थालाई स्पष्ट पारेको छ । वन्डर्स नेपालले उक्त अवधिमा सञ्चालन आम्दानीबाट १२ करोड ५० लाख रूपैयाँ मात्रै आम्दानी गरेको छ । कम्पनीको सञ्चालन खर्च मात्रै बार्षिक नौ करोड ७० लाख रुपैयाँ लागेको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन ७८.०२ प्रतिशत रहेको छ । तर, कम्पनीले आर्थिक व्यवस्थापनमा केही चुनौतीहरूको सामना गरिरहेको छ । कुल ऋण–इक्विटी अनुपात १.६६ र ब्याज भुक्तानी क्षमता १.४७ गुणा रहेको देखिन्छ । साथै, कुल ऋणलाई नगद आम्दानीको आधारमा हेर्दा १९.३० गुणा रहेको छ । उच्च ऋण र वित्तीय जोखिमबीच कम्पनीले कम्पनीमा संकट रहेको प्रष्ट गरेको छ । साथै कम्पनीको महंगो ह्रास खर्चको चाप रहेको उल्लेख गरेको छ ।

 

टावरको आम्दानीका अन्य स्रोतमा कफिसप, सैलुन, रेष्टुरेन्ट भएपनि चढ्ने मान्छे नै कम आउँदा आम्दानी संकुचन भइरहेको छ । सीमित सञ्चालन खर्चको कारण कम्पनीले ह्रासकट्टी, ब्याज र करअघिको नाफा सन् २०२४ मा ९ करोड ७० लाख रूपैयाँ मात्र भएको छ । सन् २०२४ मा कम्पनीले विभिन्न चुनौतिको सामना गर्दै ४ लाख ७० हजार रूपैयाँको घाटा बेहोरेको देखिएको छ । कम्पनीले गत वर्ष ६ करोड ६० लाख रूपैयाँ ब्याज खर्च तिरेको समेत केयर एज नेपालको प्रतिवेदनमा भनिएको छ ।

 

उक्त कम्पनीले अहिले बैंकबाट ६० करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको छ । रेटिङको क्रममा केयर एज रेटिङ नेपालले डबल बी रेटिङ दिएकोले ऋण लिन योग्य कम्पनीको सूचिमा पर्न सफल भएको छ । तर, कम्पनीले ग्राहकप्रति विश्वास नबढाउने, शुल्क पुनवरावलोकन नगर्ने हो भने भविष्यमा थप जोखिम देखिएको छ ।

 

धरहरा सञ्चालन भएपछि थप आय घट्ने अवस्थामा कम्पनी आइएपछि आइपीओ मार्फत पैसा उठाउने दाउमा अघि बढेको देखिएको छ । सो बारेमा बुझ्न खोज्दा कम्पनीका एमडी विष्णुहरि पाण्डे भने सम्पर्कमा नै आउन चाहेनन् ।

कम्पनीको पुष २६ गते संचालक समितिका अध्यक्ष प्रबेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न ७ औं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आइपीओ जारी गर्ने प्रक्रियामा जाने निर्णय पारित गरेको छ । सो सभाबाट कम्पनीको अध्यक्ष तेजबहादुर सिंह र प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे बनेका छन् ।

 

 

कम्पनीले साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिसकेको हुँदा धितोपत्र बोर्डको दैलोमा आइपीओ निष्कासनको प्रस्ताव बोकेर जानेछ । व्यापारमा संकुचन आएपछि आइपीओ निष्कासन गर्ने तयारी गरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले के गर्ला यो चासोको विषय बनेको छ ।

 

Wonders_Nepal_Private_Limited_ Sky tower rating

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*