सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!

२८ पुष २०८१, आईतवार १२:५०

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको नाममा पुगेको तथ्यहरुले देखाएको छ ।

कर कार्यालयको त्रिपुरेश्वरमा दर्ता भएको नेपाल एक्सप्रेस फाइनान्स स्थायी लेखा नम्बर ३०३०२३०३२ ले आ.व २०७४ सालदेखि कर नतिरी वेपत्ता छ । कर कार्यालयको रेकर्डमा सो नेपाल एक्सप्रेस फाइनान्सका मुख्य ब्यक्तिको रुपमा सन्तोषनारायणको नाम छ । सन् २००५ डिसेम्बर देखि सन् २०१५ अगस्ट सम्म उनको आवद्धता नेपाल एक्सप्रेस फाइनान्समा थियो, जसका उनी संस्थापक अध्यक्ष थिए । कर कार्यालयले त्रिपुरेश्वरले २०७८ सालमा निकालेको सार्वजनिक सूचनामा नै श्रेष्ठको नाम राखिएको भेटिएको छ ।

अब उक्त कर सन्तोषनारायण श्रेष्ठले भने तिर्नुपर्ने हाेइन । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेर कैलाश विकास बैंक बनेको थियो । २०७८ फागुनमा कैलाश बैंक प्राइम कमर्सियल बैंकमा विलय भएको थियो । अब नेपाल एक्सप्रेस फाइनान्सकाे बक्याैता नतिरेको रकम अब प्राइम बैंकले तिर्नुपर्ने छ ।

फाइनान्स कम्पनी सञ्चालनमा असफल भएका र ती कम्पनीहरूलाई गम्भीर संकटमा पुर्‍याएका व्यक्तिलाई अहिले धितोपत्र बोर्डको नेतृत्वको जिम्मेवारी आएका छन् । विगतमा श्रेष्ठले फाइनान्स कम्पनीलाई वित्तीय व्यवस्थापनका दृष्टिले कठिन अवस्थामा पुर्‍याउँदै मर्जर प्रक्रियामा धकेल्नु परेको इतिहास रहेकोले अहिले धितोपत्र बजारको नियमन र व्यवस्थापन गर्न सक्ने क्षमता र विश्वसनीयतामाथि आशंका उत्पन्न भएको हो। पुँजी बजारमा सुधार र स्थायित्व ल्याउन उनी कति सफल होलान् त्यो हेर्ने बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*