पेशागत बीमा अभिकर्ता संघ पोखरा शाखाको पाँचौं साधारणसभा सम्पन्न
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै संघका केन्द्रीय उपाध्यक्ष रामशरण पोखरेलले बीमा अभिकर्ता र बीमितहरूको हकहितका लागि सबै अभिकर्ता एकजुट भएर काम गर्नुपर्ने बताए। उनले संघले अघिल्ला वर्षहरूमा गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता रहेको बताए। पोखरा शाखाले गरेका उत्कृष्ट कामहरूको उदाहरण अन्य शाखाहरूले पनि अनुकरण गर्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष विमला आङ्गाई, गण्डकी प्रदेश उपाध्यक्ष मञ्जु कोइराला, नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश अपरेसन इन्चार्ज विष्णुबहादुर अधिकारी, पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिना, समितिका निवर्तमान अध्यक्ष तारादेवी बराल, लेखनाथ शाखा समिति अध्यक्ष योगेन्द्र बराल, पोखरा शाखा समिति सदस्य कुन्दन कुमार मल्लिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारण सभामा आजीवन सदस्य बनेका अभिकर्ताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। साथै प्रत्येक वर्षजस्तै यस वर्ष पनि पोखरा शाखामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ। यस पटक अनिल घिमिरे सम्मानित भएको समितिले जानकारी दिएको छ।
शाखा समितिका अध्यक्ष दीपकप्रसाद पराजुलीले शाखाको कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रतिबद्धता जनाए। साधारण सभामा सचिव धनप्रसाद पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सोमबहादुर नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव पौडेलले गरेका थिए।