कुमारी बैंक र एनसीएचएबीच अन्तरदेशीय भुक्तानी सहकार्य
काठमाडौँ। कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एचसीएचएल)सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो ।
यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ । यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टरपेरेबल क्यूआर लाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया,इटाली, मलेशिया,फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउने छ ।