नेपाल राष्ट्र बैंकको रिपोर्ट : महँगीदर १४ महिनायताकै उच्च,

२६ पुष २०८१, शुक्रबार १८:२३

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्ममा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*