पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,९०,३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,३५,४२५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,७१,९७५ र १,०२,५४२ रहेको थियो ।