कुलमानले बुझाए आफ्नो कार्यसम्पादन मूल्यांकन, ९८.९९ प्रतिशत अंक दाबी

२६ पुष २०८१, शुक्रबार १६:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादनको मूल्याङ्कन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। उनले बिहीबार कार्यसम्पादनका मुख्य सूचकाङ्कसहितको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका हुन्।

घिसिङलाई मन्त्रिपरिषद्ले २०७८ साउन २५ गते चार वर्षका लागि पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। नियुक्तिपछि ऊर्जा मन्त्रालय र घिसिङबीच विभिन्न सुधारात्मक कार्यसूचकाङ्कसहितको कार्यसम्पादन सम्झौता भएको थियो। यस आधारमा अघिल्लो दुई आर्थिक वर्षमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत मूल्याङ्कन भएको थियो।

प्राधिकरणले २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटा व्यहोरेको थियो। तर, २०७३र७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा गर्दै घाटा कटौतीको नयाँ इतिहास सुरु गरेको प्राधिकरणले अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।

आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। यस अवधिमा विद्युत प्रणालीको चुहावटलाई १२।७३ प्रतिशतमा झार्न सफल भएको छ, जुन आठ वर्षअघिको २५।७८ प्रतिशतबाट निकै सुधार हो।

प्राधिकरणले विगत आठ वर्षमा विद्युतीकरणलाई उल्लेखनीय रूपमा अघि बढाएको छ। आर्थिक वर्ष २०७२/७३ मा मात्र ५८ प्रतिशत रहेको विद्युतीकरण तीन वर्षअघि ८९.७ प्रतिशतमा पुगेको थियो भने हाल यो ९९ प्रतिशत पुगेको छ।

घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय सुदृढीकरण, सुशासन कायम, विद्युत आपूर्तिको गुणस्तर सुधार, ठूला जलविद्युत आयोजनाको प्रवर्द्धन, आन्तरिक खपत वृद्धि, र अतिरिक्त विद्युत निर्यातलाई प्राथमिकतामा राख्दै उल्लेखनीय प्रगति गरेको छ।

प्राधिकरणले गत वर्ष भारतलाई विद्युत निर्यात गरी १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो। विद्युत निर्यातले आयातभन्दा करिब १३ करोड रुपैयाँ बढी आम्दानी गर्दै नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*