यस्तो छ बीमा प्राधिकरणको अध्यक्ष छनोट कार्यविधि (अकंभारसहित)

२६ पुष २०८१, शुक्रबार ११:५८

काठमाडौँ। नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अध्यक्ष पदमा आवेदन दिन चाहने उम्मेदवारले विभिन्न योग्यता तथा अनुभवका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था छ।

उम्मेदवारहरूको मूल्याङ्कनका लागि समग्र अकं भार र यसको विभाजन पनि स्पष्ट गरिएको छ। व्यावसायिक कार्ययोजनाका लागि ४० अकं, शैक्षिक योग्यताका लागि ५ अकं, कार्य अनुभवका लागि ५ अकं, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि २० अकं र अन्तर्वार्ताका लागि ३० अकं छुट्याइएको छ।

सिफारिस समितिले तोकिएको योग्यता र अनुभव भएका आवेदकहरूको व्यावसायिक कार्ययोजनालाई तीनजना स्वतन्त्र विज्ञहरूले मूल्याङ्कन गर्नेछ। विज्ञहरूको मूल्याङ्कनको औसत प्राप्ताङ्कको आधारमा व्यावसायिक कार्ययोजनाको प्राप्ताङ्क निर्धारण गरिनेछ। त्यसपछि, आवेदकहरूको शैक्षिक योग्यता, कार्य अनुभव, र व्यावसायिक कार्ययोजनाको अङ्कको योगफल गरेर उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको सूची तयार गरिनेछ।

यस प्रक्रियामा, उच्चतम अङ्क प्राप्त गरेका पाँचजना उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिनेछ। प्रस्तुतीकरणका लागि आवेदकहरूले तोकिएको मिति र समयमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ, जसका लागि ३० मिनेट समय प्रदान गरिनेछ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका क्रममा बीमाको सैद्धान्तिक पृष्ठभूमि, नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा प्राधिकरणको विकास योजना, रणनीतिक सुधारका सम्भावना, नेपाल र अन्तर्राष्ट्रिय बीमा क्षेत्रको तुलनात्मक विश्लेषण जस्ता विषय समेटिनुपर्नेछ। साथै, यसका लागि आवश्यक सन्दर्भ सामग्री खुलाएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेबसाइटबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिनका लागि १५ दिनको समय सीमा तोकिएको छ।

1736484340_बीमाको कार्यविधी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*