टीकापुर जग्गा हिनामिना प्रकरणः विशेष अदालतद्वारा ८७ जना दोषी ठहर

२६ पुष २०८१, शुक्रबार ११:०३

काठमाडौँ । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यो फैसला गरेको हो।

टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी र उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैदको सजाय सुनाइएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, जग्गा खरिद गर्ने ११७ जनामध्ये ८७ जनालाई दोषी ठहर गरी तीन महिना कैद र जरिवाना हुने फैसला सुनाइएको छ। अदालतले जग्गा टीकापुर नगर विकास समितिकै नाममा हुने ठहर गरेको छ।

फैसलामा दोषी ठहर व्यक्तिहरूलाई डेढ महिना कैद र १३ लाख ७ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै, केशरबहादुर कुँवर र राजु आचार्यलाई सफाइ दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा गैरकानुनी रूपमा दर्ता गरेको आरोपमा मुद्दा दायर गरेको थियो। अदालतले उक्त जग्गा जफत गरी नगर विकास समितिको नाममा राख्ने आदेश दिएको छ।

अदालतको फैसलामा भनिएको छ, “जफत भएका जग्गा प्रतिवादीको नाममा रहेकाले ती जग्गा नगर विकास समितिकै नाममा कायम हुन्छन्। प्रतिवादीहरूले जग्गा खरिद गर्दा तिरेको रकम सम्बन्धित बिक्रीकर्तासँग कानुनबमोजिम दाबी गर्न पाउनेछन्।”

अख्तियारले नक्कली रसिद बनाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिहरूमाथि मुद्दा दायर गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*