लगातार छैटौं दिन पनि बढ्यो बजार: साढे ६ अर्बको कारोबार, विकास बैंक र फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । बजारमा आज लगातार छैटौं दिन समेत सुधार आएको हो । पछिल्लो केही दिनयता देखिएको सुधारले लगानीकर्ताको मनोबललाई मजबुत बनाएको छ ।
वर्तमानमा, नेपालको वित्तीय प्रणालीमा उच्च स्तरको तरलता रहेको भएपनि बैंकहरूले कर्जा प्रवाहमा विशेष प्रगति गर्न सकेका छैनन् । ब्याजदरहरू निरन्तर घटिरहेको छ र अधिक तरलताका कारण केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट नियमित रूपमा पैसा निकालिरहेको छ । सस्तो ब्याजदर र तरलतामा सुधारले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।
नियामक निकायले पनि शेयर बजारको नियमनका लागि सक्रिय कदम चालिरहेको छ, जसमा माफियाहरूको गतिविधिमा कडाइ देखाइएको छ । वित्तीय अवस्था कमजोर रहेका केही कम्पनीहरूलाई राष्ट्र बैंकले कारबाही थालेको छ, जसले बजारको व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नियामकले नीति समेत विस्तारै खुकुलो बनाउँदै लगि रहेको छ । सोहि कारण पनि लगानीकर्ता हौसिएका छन् । मंगलबार केन्द्रिय बैंकले लघुवित्त सम्बन्धी निर्देशिका जारी गर्दै नीति खुुकुलो पारेको छ । जसले गर्दा लगानीकर्ता उत्साहित भएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५३ अकंले बढेर २६५३.३८ बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । कारोबार रकममा आएको रौनकले बजारलाई सकारात्मकको संकेत दिएको छ ।
यसदिन फाइनान्स र विकास बैंकको शेयर मूल्यमा उच्च सुधार देखिएको छ । आज विकास बैंकको २.५३ प्रतिशत र फाइनान्स समूहको ४.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १३९ कम्पनीको शेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ ।