ज्योति लाइफका कर्मचारीबीच रिसइवी, प्रतिशोधमा अभद्र व्यवहार मुद्दा, कान्तिपुरदेखि कस–कसले गरे चरित्र हत्या ?

२९ भाद्र २०७८, मंगलवार ११:००

काठमाडौं । एउटै कम्पनीमा कार्यरत कर्मचारीहरुका बीचमा रिसइवी बढ्दै जाँदा कसरी चरित्र हत्या गरिन्छ भन्ने उदाहरण बनेका छन्, नेपालगन्जस्थित ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत ३६ बर्षिय मोहन कुमार माझी । उनी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जमा एरिया सेल्स म्यानेजरको रुपमा कार्यरत छन् ।

नेपालगन्जदेखि केही पर कोहलपुरमा अर्को शाखा छ, सो शाखामा कार्यरत एक ४० वर्षिय महिलाले माझीमाथि रिसइवी राख्न थालिन् । आफै शाखा प्रमुख हुन खोजेकी ति महिलाले नयाँ शाखा प्रमुख बनाएर अर्को कर्मचारी ल्याएपछि सुरु भएको झगडा अहिले जिल्ला प्रशासन कार्यालय बाँकेमा अभद्र व्यहार गरेको मुद्दा विचाराधिन अवस्थामा छ ।

४० वर्षिय महिला कोहलपुर उपशाखाकी प्रमुखको रुपमा कार्यरत थिइन् । उनी कार्यरत कोहलपुर उपशाखालाई कम्पनीले शाखामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो र गत वर्षको भदौं २३ गतेदेखि नै उक्त शाखामा नयाँ शाखा प्रमुख बनाएर अर्को कर्मचारीलाई पठाएपछि मार्केटिङ एक्जुकेटिभको रुपमा कार्यरत रहेकी छिन् । उनले शाखा प्रमुख बन्न माग गरिन्, अर्को व्यक्तिलाई शाखा प्रमुख बनाएर पठाएको रिसइवी अब माझीतर्फ सोझियो ।

एउटै कम्पनीमै कार्यरत ४० बर्षिय महिलाले २०७७ साल असोज १६ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा सोही कम्पनीका एरिया सेल्स म्यानेजर माझीमाथि अभद्र व्यवहारको उजुरी दर्ता गरएको प्राप्त कागजातबाट देखिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेमा दर्ता गराएको जाहेरी दरखास्तमा माझीले बीमा अभिकर्ताको कागजात लिन २०७७ असार २१ गते साँझ ८ः०० राति बाँकेको कोहलपुरस्थित चटार प्रहरी चौकी अगाडि बोलाएको र कागजपत्र लिई फर्कन खोज्दा म घरमा पुर्याईदिन्छु भनि गाडीभित्र यौनजन्य अभद्र व्यवहार गरेको उल्लेख गरेकी छिन् ।

प्रहरीले तत्कालै अनुसन्धान अघि बढाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिमको प्रक्रिया पुरा गरी जिल्ला सरकारी वकिल हुँदै चार दिनभित्र जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भयो । पीडित भनिएकी ४० बर्षिय महिलाले घटना विवरण, विश्वासयोग्य आधार तथा बलियो प्रमाण पेश हुन नसकेपछि प्रमुख जिल्ला अधिकारीको इजलासले पाँच हजार रुपैयाँ धरौटीमा माझीलाई रिहा गर्न आदेश दिई तारेखमा बसेर मुद्दाको पुर्पक्ष अनुमति दिइयो ।

उक्त घटना घटाइएको भनिएको दिन, २०७७ असार २१ गते आफू कार्यरत कम्पनीमा अनलाईनबाट भ्रमण आदेशको अनुमति समेत लिएर बर्दियाको राजापुर गएको र सो दिन राजापुरमै रहेको मनकामना रिभर्स साइड होटलमा बास बसेको, कोहलपुर तथा नेपालगन्जमा समेत नरहेको, सबै तथ्य प्रमाणहरुका आधारमा माझीले आफू निर्दोष रहेको र प्रतिशोधका कारण आफूमाथि अभद्र व्यहारको झूठो मुद्दा लगाएको भन्दै इजलाश समक्ष इन्कारी बयान दिएको अवस्था छ ।

सो मुद्दा फैसलाको लागि अन्तिम चरणमा पुगेको अवस्थामा माझीका विरुद्धमा एकाएक मिडिया क्याम्पेनिङ सुरु भयो । इजलासमा मुद्दा चल्दा चल्दै गरेको अवस्थामा पक्ष वा विपक्षमा संसदमा समेत बहस गर्न पाइदैन तर, मुद्दालाई प्रभावित पार्ने गरी सुरु भएको मिडिया क्याम्पेनिङको नराम्रो सिकार बने माझी ।

इजलासमा अभद्र व्यहारको अभियोगमा मुद्दा दर्ता छ । पीडित भनिएकी महिलाले वकिल समेतबाट लेखाई प्रहरी समक्ष दिएकी जाहेरी दरखास्तमा बलात्कार, बलात्कार प्रयास, आशय र उद्यम भन्ने शब्द कही कतै छैन । तर, एकाएक गत भदौं २४ गते कान्तिपुरको अनलाईन संस्करण र भदौं २७ गतेको कान्तिपुर दैनिकमा ‘गाडीमा बलात्कार प्रयास, मुद्दा अभद्र व्यवहार’ शिर्षकमा समाचार छापियो । एक त गर्दै नगरेको अपराध र दोस्रो आफूले खेपेको मुद्दा भन्दा फरक पारेर समाचार छापेर कान्तिपुरले चरित्र हत्या गरेपछि इमान्दार बीमाकर्मी माझी तनावमा परे । कान्तिपुरमा समाचार प्रकाशित भएपछि सो समाचार विभिन्न अनलाइनहरुले सार्न भ्याइसकेका छन् । वास्तविकता भन्दा पनि भ्युअर सेन्ट्रिक भएका अनलाईनहरु मध्ये एउटा अनलाईनले त बलात्कार नै गरेको भनेर बीमाकर्मीको चरित्र हत्या गर्न भ्याइसकेको छ ।

माझीको दैनिकी आएका समाचारको खण्डन गर्दैमा भ्याई नभ्याई छ । कान्तिपुर दैनिकले आजको अंकमा उक्त झूठो समाचारको खण्डन गरिसकेको छ । कान्तिपुरकै समाचार सारेकाहरुले कहिले आफ्नो समाचार खण्डन कहिले गर्छन, थाहा छैन ।

बीमापोष्टसँग संक्षिप्त कुरा गर्दै माझी भने, ‘सर मैले गर्दै नगरेको अभियोगको मुद्दा खेपिरहेको छु, मिडियाहरु मैले खेपेको झुठो मुद्दा भन्दा विपरितको अपराधी करार गरी मेरो बद्नाम र चरित्र हत्या गर्न पछि लागेका छन् । यो देशमा मानवीय, न्याय, यथार्थ बुझ्ने कोही रहनेछन्, पीप पत्रकारिता मात्रै हुँदो रहेछ । ’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*