एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिट खारेज

११ पुष २०८१, बिहीबार १८:३०

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

यस अघि, मल्ल र ढुंगानाको इजलासले पुस १ गते उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो र पुस ९ गतेको इजलासमा निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको थियो।

सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको थियो। सिंहले परमादेशसमेत मागेका थिए।

मलेसियन कम्पनी आजियाटा लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको थियो। यस सेयर कारोबारमा नेपाल बाहिरको कारोबारी लेनदेन, नियामकीय निकायलाई जानकारी नगराइएको र मूल्यमा भएको भिन्नता लगायतका विवाद उठेका थिए।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*