बीमा कम्पनीको हकप्रद शेयर स्वीकृती दिने प्रकृया अघि बढ्यो, कुनले कति ल्याउँदैछन् ?

१० पुष २०८१, बुधबार १६:२२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा दिएका निर्देशन बमोजिम सात कम्पनीहरुले उक्त रकम बराबरको हकप्रद निष्काशन गर्न लागेका हुन् ।

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र सानिमा जिआइसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स बोर्डको पाइपलाइनमा रहेका छन् ।

धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । कम्पनीहरुले चुक्ता पूँजी बृद्धिको आवश्यकता अनुसार हकप्रद निष्काशन गर्ने निर्णय गरेका थिए । जसका लागी उनीहरुले सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गरेर बोर्डको अनुमतिको पर्खाइमा रहेका छन ।

नेपाल धितोपत्र बोर्डले हाललाई आइपीओ स्वीकृतीको प्रक्रियालाई होल्ड गर्दै हकप्रद निष्काशनलाई प्राथमिकतामा राखेको छ । बीमा कम्पनीहरुको चुक्ता पुँजी जुटाउन हकप्रद प्रस्ताव अगाडी बढाउनु पर्ने भएको कारण प्राथमिकतामा राखिएको बोर्डका एक अधिकारीले बताए ।

सो आधारमा मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न स्वीकृती प्रदान गरिसकेको छ । पाइपलाइनमा रहेका अन्य सात बीमा कम्पनीहरुलाई पनि हकप्रद निष्काशनको स्वीकृती दिन प्रक्रिया अगाडि बढाएको छ । विगत ११ महिनादेखि नेतृत्व बिहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएसँगै बीमा कम्पनीहरुले हकप्रद निष्काशनको अनुमति पाउने भएका छन् ।

हकप्रद निष्काशनको लागि पाइपलाइनमा रहेका कम्पनीहरु

सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्सले १ः०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.२७ को अनुपातले एक करोड ६ लाख ९६ हजार कित्ता बराबर एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्र्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ का अनुपातका दरले एक करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक अर्ब ४२ करोड ७९ हजार रुपैयाँको हकप्रद ल्याउने भएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ः०.१७ अनुपातका दरले ७३ लाख तीन हजार दुई सय कित्ता बराबरको ७३ करोड तीन लाख २० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्नको लागी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः४ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ६५ लाख ७६ हजार कित्ता बराबर ६५ करोड ७६ लाख ९३ हजार रुपैयाँको हकप्रद ल्याउन एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.५०१५६ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ८३ लाख ५० हजार कित्ता बराबर ८३ करोड ५० लाख १३ हजार रुपैयाँको हकप्रद ल्याउन एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स
सानिमा जिआइसी इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः२.५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ५० लाख कित्ता बराबर ५० करोड रुपैयाँको हकप्रद ल्याउन सिटिजन क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स
युनाइटेड अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.१५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ लख ५० हजार कित्ता बराबर ३१ करोड ५० लाख रुपैयाँको हकप्रद ल्याउन लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको लागि अनुमति दिएपश्चात कम्पनीहरुले हकप्र निष्काशन गर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*