सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएकी पूर्वप्रदेश सभा सदस्य तथा नेकपा एमालेकी नेतृ मीना गुरुङ पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ गुरुङलाई पक्राउ गरेको हो।
गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष हुन्। सहकारीमा आर्थिक अनियमितता र ठगीको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस प्रकरणमा गुरुङको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मीना गुरुङ अघिल्लो गण्डकी प्रदेशसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। सहकारीको ठगी प्रकरणमा उच्च राजनीतिक व्यक्तित्वहरू मुछिएको विषयले सार्वजनिक चासो बढाएको छ।
सूर्यदर्शन सहकारीमा आर्थिक अनियमितता र सदस्यहरूबाट संकलित रकम दुरुपयोगको आरोप लगाइँदै आएको छ। पीडितहरूले सहकारीले आफ्नो लगानी फिर्ता नगरेको गुनासो गर्दै आएका थिए।