सिमेन्ट निर्यातमा धक्काः भारतले बीआईएस नवीकरण नगर्दा खुम्चिँदै व्यापार, मुकदर्शक सरकार

दिपक विष्ट
१० पुष २०८१, बुधबार १३:०७

काठमाडौँ । पछिल्लो समय सिमेन्ट निर्यातमा कमी आइरहेको छ । नेपालको चुलिँदो व्यापार घाटा कम गर्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिमेन्ट निर्यात चालु आर्थिक वर्ष २०८१।०८२ यता निरन्तर घट्दो क्रममा रहेको हो ।

भन्सार विभागका अनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।०२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ अर्ब ४९ करोड २३ लाख ५३ हजार बराबरको १३ लाख २९ हजार ३०७ मेट्रिक टन सिमेन्ट भारतमा निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यसै गरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७५ करोड ६ लाख २३ हजार रुपैयाँको क्लिङ्कर र ७४ करोड १७ लाख ३० हजार रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो ।

नेपाल सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, विशेष गरी चुनढुङ्गा, पर्याप्त मात्रामा उपलब्ध भएको देश हो । यहाँका विभिन्न उद्योगहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै सिमेन्ट उत्पादन गर्दै आएका छन् । सिमेन्ट उत्पादन गर्ने प्रमुख कम्पनीहरूमा शिवम सिमेन्ट, मारुती सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट, तानसेन सिमेन्ट र सिजी सिमेन्ट रहेका छन् । यी उद्योगहरूले नेपालको आन्तरिक बजारमा मात्र नभई भारत जस्ता छिमेकी मुलुकमा पनि निर्यात गर्दै आएका हुन् ।

पछिल्लो समय भारतले नेपालबाट सिमेन्ट निर्यात गर्दै आएका उद्योगहरूको बीआईएस (ब्युरो अफ इण्डियन स्ट्याण्डर्स) नवीकरण गर्न आनाकानी गर्दा निर्यात खुम्ची रहेको नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारुले बीमापोष्टलाई बताए । उनले भने, ‘नेपालको सिमेन्ट निकै उच्च गुणस्तरीय छ । विश्वनिय समेत रहेको छ । तर, पछिल्लो समय भारतले बीआईएस नवीकरण गर्ने कानाकानी गरी रहेको छ । सोही कारण पनि अहिले निर्यातमा धक्का लागि रहेको हो ।’

नेपालका सिमेन्ट उद्योगहरू अर्बौको सिमेन्ट निर्यातका लागि समेत सक्षम रहेको अध्यक्ष मारुको भनाइ छ । ‘नेपालका सिमेन्ट उद्योग अर्बौको सिमेन्ट निर्यात गर्ने क्षमतावान् छौँ । हाम्रो सिमेन्ट पनि उस्तै उच्च गुणस्तरीय रहेको छ । बाधा अवरोध हट्ने हो भने नेपालको व्यापार घाटामा सिमेन्टले नै ठुलो सुधार ल्याउन सक्छ’ उनले भने, ‘ पछिल्लो समय भारतले बीआईएस रिन्यु गर्ने आनाकानी गरेको छ । हामीले बारम्बार अनुरोध गर्दा पनि भारतीय पक्षले मानिरहेको छैन, तर गर्दैनौँ पनि भनेको छैन ।’

विशेष गरी, भित्ते विज्ञापन, स्थानीय स्तरमा च्यानल पार्टनरहरूको निर्माण र प्रतिस्पर्धी मूल्यमा उत्पादन उपलब्ध गराउनुजस्ता उपायले भारतीय बजारमा नेपाली सिमेन्टको उपस्थिति मजबुत बनाउँदै आएको छ । तथापि, भारतमा गुणस्तर प्रमाणपत्र नवीकरणको समस्या र विभिन्न प्राविधिक अवरोधले निर्यातमा कमी ल्याएको छ ।

भारतले नेपाली सिमेन्टका लागि अनिवार्य रूपमा ‘इन्डियन स्ट्यान्डर्ड’ प्रमाणपत्रको माग गर्दछ । यो प्रमाणपत्र प्रत्येक वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । प्रमाणपत्रको नवीकरणमा भएको ढिलाइका कारण भारततर्फ सिमेन्टको निर्यात प्रभावित भएको छ ।

भारतले बीआईएस नवीकरण नगरेको भन्दै कूटनीति पहलका लागि नेपाल सरकारलाई अपिल गरेको भए पनि समस्या समाधान हुन नसकेको एक ःब्यवसायीले गुनासो गरे । उनले भने, नेपालका व्यवसायीहरूको भारतीय सरकारसँग सिँधा पहुँच नहुने हुने कुरो भएन । नेपाल सरकारले नै यसबारे कूटनीतिक पहल गर्नुपर्ने हो । हामी व्यवसायीले समेत मन्त्रालयमा गएर बेला बेला हारगुहार गरेका छौँ । तर, सरकारलाई यो समस्या जस्तै लाग्दैन की के हो रु मन्त्रीको त कुरै छोडौँ कुनै पनि सचिव र आधिकारिक विभागको अधिकारीले समेत भारतीय निकाय र पक्षसँग यसबारे औपचारिक छलफल नै छैन ।’

व्यापार घाटा चुलिएको बेला सिमेन्ट निर्यातले ठुलो राहत गरे पनि पछिल्लो समय आएको अवरोधले फेरी निराश पलाएको ब्यवसायीहरुको गुनासो रहेको छ ।

आन्तरिक बजारमा समेत सिमेन्टको माग अपेक्षा अनुसार हुन नसेकेको अध्यक्ष मारु बताए । सिजनको बेला भएका कारण सिमेन्टको व्यापार सुधारिएको जस्तो देखिए पनि अपेक्षा अनुसार हुन नसकेको उनको भनाइ छ । ‘अहिले यो सिजनको बेला भएका कारण सिमेन्टको माग अलि हुनु स्वाभाविक नै हो । तर, आन्तरिक बजारमा अपेक्षा अनुसारको व्यापार छैन । सोही कारण निर्यातमा बढी ध्यान दिएका थियौ । भारतले गरेको अवरोधले थप निराश बनाएको छ’ मारुले भने ।

नेपालको सिमेन्ट उद्योगले कच्चा पदार्थ प्रशोधन र उत्पादनका लागि ठुलो मात्रामा विद्युत् खपत गर्दछ । तर, नेपाल विद्युत् प्राधिकरणसँग उद्योगहरूको पटक–पटक विवाद हुने गरेको छ । विद्युत् महसुल तिर्ने विषयमा असहमति हुँदा प्राधिकरणले केही उद्योगहरूको बिजुली आपूर्ति रोकेपछि उत्पादन अवरुद्ध भइरहेको ब्यवसायीहरुको गुनासो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*