घुस सेटिङमा सरकारले जफत गर्न रोक्का राखेको २१ रोपनी जग्गा बिक्री, अख्तियार पसेपछि टुंगरमका सञ्चालक अमेरिका फरार
काठमाडौं । विद्यालयको नाममा अमेरिकाबाट आउने शंकास्पद लगानी भित्र्याएर हदबन्दीभन्दा बढी जग्गा किनेर बिक्री धन्दा चलाएको टुंगरम इन्टरनेसनल एकेडेमीका सञ्चालकले जफत गर्न रोक्का राखिएको जग्गा समेत नाटकीय रुपमा आफ्नै कम्पनीलाई बेचेको तथ्य बाहिरिएको छ ।
स्कुलको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका-९, लामाटारमा रहेको २१ रोपनी जग्गा सरकारले जफत गर्न रोक्का राखेको अवस्थामा बिक्री भएको अख्तियार दुरुपयो अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।
हदबन्दीभन्दा धेरै जग्गा जफत हुनबाट जोगाउनका लागि मालपोतको मिलेमतोमा आफ्नै आफन्त तथा आसेपासेका नाममा नयाँ कम्पनी खडा गरेर जग्गा बिक्री भएको बताइएको छ । ध्यान भिल्ला, शिला डेभलपर्स नाम गरेका कम्पनी बनाएर जग्गा बिक्री गरिएको छ । २०७९ पुस ६ मा शिला डेभलपर्स कम्पनीलाई १४ रोपनी १३ आना तीन पैसा तीन दाम र ध्यान भिल्लालाई ६ रोपनी सात आना दुई पैसा जग्गा बिक्री गरेको देखिन्छ ।
ती दुबै कम्पनी विद्यालयका प्रमुख सञ्चालक टुंगरम ग्याल्टुङ रिम्पोचे शेर्पानिकटस्थ व्यक्तिका नाममा छन् । उनले हदबन्दीभन्दा धेरै जग्गा बेच्नकै लागि यसरी मालपोत कार्यालय ललितपुरसँग घुस सेटिङ गरेर आफु निकटस्थका पोल्टामा पारेको छानबिनबाट खुलेको छ ।
विद्यालयको नाममा ललितपुर र भक्तपुरमा गरी करिब सय रोपनी जग्गा रहेकामा त्यो हदबन्दीभन्दा धेरै रहेकाले रोक्कामा थियो । विद्यालयको हदबन्दीभित्र पर्ने भक्तपुरको करिब २९ रोपनी जग्गा पाँच वर्षअघि नै बिक्री भएको थियो । सरकारको अनुमति लिई शर्त बमोजिमको प्रयोजनमा प्रयोग गर्दा थप जग्गा राख्न पाइने भए पनि हदबन्दी अनुसार काठमाडौं उपत्यकामा ३० रोपनीभन्दा बढी जग्गा राख्न पाइँदैन ।
विद्यालय संरचना निर्माण गर्ने बहानामा अमेरिकाबाट आएको शंकास्पद लगानीले कौडीको भाउमा हदबन्दीभन्दा बढी जग्गा किनेर महँगो मूल्यमा बेच्ने धन्दा नै चलाएको खुल्न आएको छ । भूमिसम्बन्धी ऐनअनुसार अनुमति नलिई राखिएको जग्गा जफत हुने प्रावधान छ । त्यसरी सरकारले रोक्का गरेको जग्गा बिक्री गरेकाले तत्कालीन मालपोत कर्मचारी समेत अख्तियारको छानबिनमा तानिएका छन् ।
भूमिसम्बन्धी ऐन, २०२१ अनुसार काठमाडौं उपत्यकामा २५ रोपनी जग्गा र थप पाँच रोपनी घरबारी मात्र राख्न पाइन्छ । तर, कम्पनी तथा संस्थाहरूले नेपाल सरकारको स्वीकृति लिई राख्न पाउने र उद्देश्यअनुसार प्रयोग गर्नुपर्ने ऐनको दफा १२ मा उल्लेख छ । उक्त दफाअनुसार विद्यालयको पूर्वाधार बनाउन भनेर हदबन्दीभन्दा धेरै जग्गा ०५२ मै किनेको देखिन्छ ।
तर, ती जग्गा विद्यालय सञ्चालन प्रयोजनार्थ प्रयोग भएको छैन । विदेशबाट विद्यालयको नाममा आएको सहयोगबाट यसरी जग्गा खरिद गरी व्यक्तिगत कम्पनीमा लगिएको छानबिनका क्रममा देखिएको छ ।
यो विषय र विद्यालय सम्बन्धको विवादमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)समेतमा उजुरी परेको छ । यस्तै, रोक्का राखेर छानबिन भइरहेको जग्गामा हाल भवन निर्माण कार्य अघि बढाइएको छ ।
ध्यान भिल्ला कम्पनीले जग्गामा भवन बनाउन थालेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्याल हदबन्दीभन्दा धेरै भएर रोक्का रहेको जग्गामा निर्माण कार्य गर्न नहुने बताएका छन् ।
‘यस्तो जग्गाको पुर्जामा नै रोक्का लेखिएको हुन्छ, जसकारण निर्माणका लागि स्थानीय तहले अनुमति दिन मिल्दैन, कसैले बनाएको अवस्थामा जग्गासँगै भवन समेत जफत हुन्छ ’, उनले भनेका छन् ।
महालक्ष्मी नगरपालिका –९ का वडाध्यक्ष जयकृष्ण बोगटीले जग्गा रोक्का रहेकोबारे आफुहरुलाई जानकारी नभएको र निर्माणका लागि स्वीकृति दिएको प्रतिक्रिया दिएका छन् ।
सबैकाम वारेसमार्फत गराइरहेका टुंगरमका मुख्य सञ्चालक ग्याल्टुङ रिम्पोचे शेर्पासहितका पदाधिकारी लामो समयदेखि अमेरिका भागेका छन् । अख्तियारले छानविन गर्न लागेको सुइको पाउनासाथ उनीहरु अमेरिका भागेका हुन् भने यहाँ संस्था तथा विद्यालय सामान्य कर्मचारीहरुका भरमा चलिरहेको छ ।