मातृभूमि लघुवित्तका अध्यक्ष र सीइओको बेइमानी, कर्जा लिँदा कमिसन खाएको खुलासा
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले पदको दुरुपयोग गर्दै संस्थाको वित्तीय शुद्धता र सुसासनमाथि गम्भीर आँच पुर्याएको आरोप लागेको छ।
लगानीकर्ता खडानन्द सापकोटाले नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागमा दिएको निवेदनमा अध्यक्ष र सीईओले संस्थाको नाममा अनियमित तरिकाले कर्जा लिई कमिसन खाएको र संस्थालाई आर्थिक भार पारेको खुलासा गरेका हुन् ।
सापकोटाका अनुसार एनआईसी एसिया बैंकबाट ९.०६ प्रतिशत ब्याजदरमा लिइएको एक अर्ब रुपैयाँ कर्जाको पचास करोड रुपैयाँ १४ दिनभित्र फिर्ता गरिएको छ। यसरी कर्जा लिँदा अध्यक्षको मौखिक निर्देशनमा काम गरिएको र कर्जाको प्रयोगबारे स्पष्ट विवरण नदिइएको उनले दाबी गरेका छन्। ‘संस्थालाई भार बोकाउने कार्य संचालक समितिका अध्यक्षको मौखिक निर्देशनमा भएको हुँदा सो रकम संस्थालाई भार नबनाई निज अध्यक्ष लोकराज शर्मा र कार्यकारी प्रमुख लक्ष्मी प्रसाद शर्मा (शर्मा दाजुभाई) बाट असुली गराई दुबै जनालाई नियमानुसार कारबाही हुनु पर्ने ‘उजुरीमा उल्लेख छ ।
सापकोटाले २०८१ असोजमा बुटवलमा आयोजित शाखा प्रबन्धक समिक्षा कार्यक्रममा मेटलाइफ बीमालाई प्रायोजक बनाएर ४० लाख रुपैयाँ खर्च देखाइएको भन्दै यो रकम अनावश्यक रूपमा बढाइएको आरोप लगाएका छन्।
प्रमुख कार्यकारी अधिकृतले नियुक्ति लिएको एक महिनाभित्रै दशैँ भत्ता र ग्राच्युटी फन्डको नाममा तीन लाख रुपैयाँ भुक्तानी लिएको तर अन्य कर्मचारीलाई ६ महिना पूरा नहुँदासम्म भत्ता नदिने नियम लागू गरेको खुलासा भएको छ।
सापकोटाले विदेशमा रहेका बेला चार वटा बैठकमा अनलाइन उपस्थित भएर विचार राखेको भए पनि फरक मत राखेकै कारण उनलाई १४४औँ बैठकबाट कम्पनी सचिव र अध्यक्षको मिलेमतोमा पदमुक्त गरिएको उल्लेख गरेका छन्।
अध्यक्ष लोकराज शर्मा नेपाल पेमेंट सोलुसनको कार्यकारी निर्देशक र मातृभूमि लघुवित्तको अध्यक्ष दुवै पदमा रहेकाले नियम उल्लंघन भएको दाबी गरिएको छ। राष्ट्र बैंकले यसअघि नै यो विषयमा निर्देशन दिए पनि हालसम्म कार्यान्वयन नगरिएको सापकोटाको आरोप छ।
सापकोटाले अध्यक्ष र सीईओले पदको दुरुपयोग गरी संस्थामा आर्थिक अनियमितता गरेको भन्दै उनीहरूलाई पदमुक्त गरी अनियमित रकम फिर्ता गराउन माग गरेका छन्।