जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ५२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ५२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्ममा ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन २.५८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको मंसिर मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरुले ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । पाँच महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.७८ प्रतिशतले बढेर १५ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ८.५७ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको ८.३८ प्रतिशतले बढेर ६ अर्ब ७२ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २८.४८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत १ करोड ४ लाख रुपैयाँ मात्र संकलन गरेको थियो ।
त्यस्तै, हिमालयन लाइफको ३.३४ प्रतिशतले घटेर ५ अर्ब ७८ करोड, सूर्यज्योति लाइफको १०.९२ प्रतिशतले बढेर २ अर्ब ९६ करोड, एशियन लाइफको ९.४१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड, सानिमा रिलायन्सको ५.९६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड, सिटिजन्स लाइफको १६.०३ को १ अर्ब ८७ करोड, मेट लाइफको ६.७१ प्रतिशतले बढेर १ अर्ब ८२ करोड रुपैयाँ नविकरण बीमा शुल्क पुगेको छ ।
यसअवधिमा नविकरण शुल्क राष्ट्रिय जीवन बीमाको ५८ प्रतिशतले घटेर १ अर्ब ७८ करोड, प्रभु महालक्ष्मीको ७.८९ प्रतिशतले बढेर १ अर्ब ४४ करोड, आइएमई लाइफको १९.४३ प्रतिशतले बढेर १ अर्ब ३५ करोड, रिलायबल नेपालको २८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड र सन नेपाल लाइफको ११.७३ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ ।