जीवन बीमा कम्पनीको व्यवसाय ६% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा रिलायबल–सिटिजन र प्रभु महालक्ष्मी लाइफअघि

९ पुष २०८१, मंगलवार १५:३१

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा व्यवसाय ६.४७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीहरुको बीमा शुल्क आर्जन ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बीमाशुल्क आर्जनको आधारमा नेपाल लाइफ र नेशनल लाइफ अग्रस्थानमा रहेका छन् भने गत आवको तुलनामा व्यवसाय बृद्धिमा रिलायबल नेपाल र सिटिजन लाइफ अग्रस्थानमा रहेका छन् ।

चालु आवको पाँच महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ११.९६ प्रतिशतले बृद्धि भएर १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन पनि ११.५१ प्रतिशतले बढेर सात अर्ब ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवको यस अवधिमा सात अर्ब १६ करोड रुपैयाँको व्यवसाय गरेको थियो ।

त्यस्तै, एलआइसी नेपालको बीमा शुल्क आर्जन १० प्रतिशतले बढेर ६ अर्ब ९२ करोड रुपैयाँबाट सात अर्ब ६६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय आक्रामक तरिकाले बृद्धि भएको छ । यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २५.४४ प्रतिशतले बृद्धि भएर एक अर्ब ५३ करोड रुपैयाँबाट एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, व्यवसाय बृद्धिमा सिटिजन लाइफ पनि आक्रामक रुपले अगाडि बढेको छ । यस अवधिमा कम्पनीको व्यवसाय १८.५९ प्रतिशतले बृद्धि गरेर दुई अर्ब २३ करोड रुपैयाँबाट दुई अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा प्रभु महालक्ष्मी लाइफको १५.९० प्रतिशत, आइएमई लाइफको १५.७० प्रतिशत, सूर्यज्योति लाइफको १५.५७ प्रतिशत, एशियन लाइफको ११.०९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ९.६३ प्रतिशत, सन नेपाल लाइफको ८.७१ प्रतिशत र मेट लाइफको ६ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।

यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय सर्वाधिक अंकले घटेको छ । कम्पनीको कुल बीमा शूल्क आर्जन ५० प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*