राष्ट्रिय बीमा कम्पनीमा करोडौं भ्रष्टाचार काण्डले नियामक र अख्तियारकै धज्जी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको विवादित र करोडौं रुपैयाँको हिसाब किताब गोलामाल भएको काण्ड बीमापोष्टले सार्वजनिक गरेपछि नियामक बीमा प्राधिकरणको अवस्था, नियामकीय कर्मचारीको कार्यदक्षतामाथि गम्भिर नैतिक प्रश्न उठेको छ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारकै समेत धज्जी उडेको छ ।
राजधानी काठमाडौंमै केन्द्रीय कार्यालय रहेको, नियामक बीमा प्राधिकरणबाट करिब दुई किलोमिटर दुरीमा, अर्थमन्त्रालयबाट करिब ३०० मिटरको दुरीमा र अख्तियारबाट करिब साढे दुई किमी दुरीमा रामशाहपथमा अवस्थित राष्ट्रिय बीमा कम्पनीमा त्यसरी दिन दहाडै ब्रम्हलूट भएको तथ्य बर्षौसम्म कसैले चाल पाएनन् ।
नियामक बीमा प्राधिकरणबाट मासिक, अर्धबार्षिक तथा बार्षिक इन्स्पेक्सनहरु भए । अझ प्रत्येक बर्षको साउन १ गते इन्स्पेक्सन गर्न थालेको त करिब चार वर्ष नै पुरा भइसकेको छ । वित्तीय विवरण प्राधिकरणलाई बुझाएको थिएन । तर, वित्तीय विवरण नै नबुझाई त्यहाँभित्रका कर्मचारीले करोडौं रुपैयाँ अपचलन गरेको तथ्यबारे लाइन एजेन्सीहरु प्राधिकरण, सेबोन र अर्थमन्त्रालय नै अनभिज्ञ थियो ।
उता, बीमापोष्टले राष्ट्रिय बीमा कम्पनीभित्र करोडौं रुपैयाँ घोटाला गरेको सबुद प्रमाणसहितको समाचार प्रकाशित गरिसकेको छ । उक्त समाचार बाहिर आएपछि राष्ट्रिय बीमा कम्पनीका सिईओ शिवहरि श्रेष्ठले थाहा नपाए झै गरिरहेका छन् । उनको कार्यकालअघि भएका आर्थिक घोटालालेखा परिक्षण गर्दा समेत गैर कानुनी रुपमा लेखापरिक्षण गराई हिनामिना गरिएको रकम समेत खोजविन नगरेको पाइएको छ । राष्ट्रिय बीमा कम्पनी सञ्चालक समिति अन्तर्गतको लेखा समिति, लेखा विभागले समेत करिब तीन बर्षको अवधीमा ७२ करोड रुपैयाँ हिनामिना गरिएको घटनाको कुनै छानविन नगरी वित्तीय विवरण तयार पार्न लगाएको देखिएको छ । २०७३ सालदेखि २०७५ सालसम्म भएको सो घटनाका अभियुक्तहरु मध्ये कतिपय हाल पनि राष्ट्रिय बीमा कम्पनीकै उपल्लो तहमा कार्यरत रहेका छन् ।
राष्ट्रिय बीमा कम्पनीभित्र पौने अर्ब बढि घोटालाको हिसाब नमिलाई लेखापरिक्षण, बीमा प्राधिकरणद्वारा ‘कैफियत’ जनाएर स्वीकृत
बीमा शुल्क उठाएर खाता प्रबिष्ट नगरेको तर जोखिम स्वीकार गरिएको घटनाले कर्मचारीहरुले मनोमानी रुपमा बीमा शुल्क लिई कम्पनीको खातामा दाखिला नगरी बीमापोलिसी जारी गरेर भ्रष्टाचार गरेको तथ्य उजागर भइसकेको छ । भ्रष्टाचारीलाई उन्मुक्ति दिई वित्तीय विवरण तयार पारिएको र सोही वित्तीय विवरणलाई नियामक बीमा प्राधिकरणले समेत स्वीकृत गरेको घटनाले अझ नियामक बीमा प्राधिकरणमा बीमा कम्पनीहरुमा हुने भ्रष्टाचारलाई छानविन गरी प्रमाणित गरी दिने निकायका रुपमा परिणत हुन पुगेको देखिन आएको छ ।
उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत राष्ट्रिय बीमा कम्पनीभित्रको घोटाला छानविन गर्न चुकेको छ । देशका कुना कुनामा पुगेर दुई पाँच हजार घुस लिने कर्मचारीहरुलाई रंगेहात पक्राउ गरेको भन्दै होहल्ला गर्ने तर आफ्नै नाकमुनी रहेको राष्ट्रिय बीमा कम्पनीभित्र करोडौं रुपैयाँ हिनामिना गरी कर्मचारीहरुले ब्रम्हलूट मच्चाएको घटनाको कुनै सुईको नपाएको देखिएकोले अख्तियारले समेत आगामी दिनमा सूचना संयन्त्रको काम कारवाहीमाथि गम्भिर समीक्षा गर्नुपर्ने देखिएको छ ।
उता, नियामक बीमा प्राधिकरणले छानविनका क्रममा राष्ट्रिय बीमा कम्पनीका सिईओ सुवास कोइराला कामु सिईओको रुपमा कार्यरत रहँदा भेरी बबई सिंचाई आयोजनामा जम्मा दुई करोडको काम भएको ठाउँमा करिब आठ करोड रुपैयाँ बीमा दावी भुक्तानी दिई भ्रष्टाचार गरेको निष्कर्ष निकाले पनि हालसम्म कुनै कारवाही गरेको छैन ।
राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस