चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष महर्जन सहकारी ठगी आरोपमा पक्राउ
८ पुष २०८१, सोमबार १६:२६
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा महर्जनलाई नियन्त्रणमा लिएको हो। उक्त सहकारीमा महर्जनले बचतकर्ता तथा शेयरधनीहरूको ठूलो परिमाणको रकम आफ्नो स्वार्थका लागि दुरुपयोग गरेको आरोप छ।
प्रहरी स्रोतका अनुसार, सहकारीका सदस्यहरूले संस्थामा राखेको रकम फिर्ता नपाएपछि प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गरी महर्जनलाई पक्राउ गरेको हो। अहिले महर्जनविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ।