मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै, बोलायो १८औँ वार्षिक साधारण सभा

८ पुष २०८१, सोमबार ११:५९

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभा आगामी पुष २९ गते पोखरामा आयोजना गर्ने भएको छ। सभा पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा बैंकले विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ। यसअन्तर्गत १०० रुपैयाँ अंकित दरका ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरबाट रु १ अर्ब संकलन गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी, हालको चुक्तापुँजी ८ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने र सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा छलफल र अनुमोदनका लागि राखिनेछ।

गत आर्थिक वर्षको बैंक र सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय गरिनेछ।

वार्षिक साधारण सभाका लागि बैंकले पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कारण पुष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*