अर्थमन्त्रालयको सुवर्णहलमा सह–सचिवहरुको गोप्य बैठक, के–के गरे निर्णय ?
काठमाडौं । गत साताको बिहिवार अर्थमन्त्रालयको सुवर्ण हलमा विहानै सबै सह–सचिवहरु भेला भएका थिए । सो दिन करिब चार घण्टा चलेको अनौपचारिक छलफलमा देशको अवस्थाको बारेमा छलफल नभए पनि अर्थमन्त्रालय, अर्थमन्त्री विष्णु पौडेल, दुई जना अर्थसचिव, प्रधानमन्त्री केपी ओलीको आर्थिक नीतिका सम्बन्धमा गम्भिर छलफल भएको छ ।
अर्थमन्त्रालय सम्बद्ध विश्वस्त स्रोतले जनाए अनुसार नेपाल धितोपत्र बोर्डका अबका दिनमा हुने घोटालामा सह–सचिवहरु कसरी बच्ने भन्ने विषयमा पनि छलफल भएको बताइन्छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिँदैछ । त्यस्तै, प्रिमियम मूल्यमा आईपिओ काण्डमा करोडौं रुपैयाँ लेनदेन हुँदैछ । त्यस्तै, प्रक्रिया नै नपुगेका लघुबीमा कम्पनीहरुको आईपिओ निष्काशनको काम पनि हुँदैछ ।
अर्थका सबै सह–सचिवहरु सहभागी भएको बैठकमा अर्थमन्त्री विष्णु पौडेलको कुरा सबैभन्दा धेरै भएका थिए । अर्थमन्त्री पौडेलले गरेको सेटिङ, नियुक्ती तथा आगामी दिनमा अघि सार्ने नीतिमाथि छलफल भएको थियो ।
पछिल्लो समय अर्थमन्त्री पौडेलेले प्रधानमन्त्री केपी शर्मा ओली सामू पुगेर आफूले सचिवका कारण नतिजामुखी काम गर्न नसकेको भन्दै गुनासो गर्ने गरेकोबारेमा पनि छलफल भएको थियो । अहिले अर्थमा अर्थसचिव देखि अर्थमन्त्रीसम्मका व्यक्तिहरुमा अर्थतन्त्र, बजेटरी सिष्टमको राम्रो ज्ञान नभएको बिषयमा पनि छलफल भएको बताइन्छ । साथै अर्थसचिवदेखि अर्थमन्त्रीसम्ममा अर्थतन्त्रको ज्ञान नहुँदा कसरी सह–सचिव हिरो भइरहेका छन् भन्ने पनि दृष्टान्तमाथि चर्चा परिचर्चा भएको थियो ।
सो भेलाले हाल अर्थमन्त्रालयमा रहेका डा. रामप्रसाद घिमिरे र राजश्व सचिव दिनेश कुमार घिमिरेको कार्यक्षमता न्यून रहेको निष्कर्ष समेत निकालेको विश्वस्त स्रोतको दावी छ ।
सह–सचिवहरुको बैठकमा पूर्व उपराष्ट्रपति विद्यादेवी भण्डारी पावरमा अर्थमन्त्रालयमा रहेका र प्रम ओली निकट सह–सचिव सहित अधिकांश सह–सचिवहरुको उपस्थिति रहेको थियो । अर्थमन्त्री पौडेल थाईल्याण्ड भ्रमणमा रहेका बेला सह–सचिवहरुको बैठक बसेर कमिकमजोरीमाथि बिमर्श गरिनुका साथै आगामी दिनमा भ्रष्टाचारमा मुछिनबाट जोगिने उपायहरुमाथि छलफल गरिएको बिषय अहिले अर्थमन्त्रालयमा गर्मागर्मी चलिरहेको छ ।