रुवीभ्याली सडक निर्माणमा अनियमितता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठजनाविरुद्ध मुद्दा
काठमाडौं । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाको पागोमाबाट स्कूलसम्मको शाखा सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाल र वडाध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगद्वारा विशेष अदालत, काठमाडौंमा दायर आरोपपत्र अनुसार सडक निर्माणमा कम काम भए पनि बढी काम भएको देखाउँदै झन्डै ११ लाख रुपैयाँ बढी भुक्तानी लिइएको थियो।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङसहितले गलत प्राविधिक प्रतिवेदन तयार गरी बढी भुक्तानी गर्न भूमिका खेलेको अख्तियारले दाबी गरेको छ।
यस्तै तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङले निर्माण कार्यको सही अनुगमन नगरी अनियमित प्रतिवेदनमा हस्ताक्षर गर्दै भुक्तानीका लागि सिफारिस गरेको आरोप अख्तियारले लगाएको छ।
त्यस्तै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङले पनि निर्माण पूरा नभई झुठो प्रतिवेदन पेश गरी रकम लिएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।
अख्तियारले आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र अनियमित रकम बराबरको बिगोसहित जरिवानाको माग गर्दै आइतबार मुद्दा दायर गरेको हो।