वर्षदिनमा सूर्यज्योति लाइफका सीइओ खत्रीले बुझे एक करोड २४ लाख तलब भत्ता
काठमाडौँ । । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश विक्रम खत्रीले वर्षदिनमा तलब भत्ता र बोनस बापत एक करोड २४ लाख रुपैयाँभन्दा बढी बुझेका छन् । गत आर्थिक वर्ष २०८०।०८१ मा तलब, भत्ता र बोनसबापत खत्रीले एक करोड २४ लाख ६१ हजार ९६६ रुपैयाँ बुझेका हुन् ।
उक्त रकममा सीइओ खत्रीको तलब, भत्ता र बोनस समावेश गरिएको छ। उनले तलब बापत एक करोड १० लाख २८ हजार ९२५ रुपैयाँ, कर्मचारी बोनस बापत १० लाख २४ हजार ८३६ रुपैयाँ, कार्यकारी प्रमुखको दुर्घटना बीमा बापत नौ हजार ४५५ रुपैयाँ, कार्यकारी प्रमुख र निजको परिवारको स्वास्थ्य बीमा बापत पाँच हजार र अनिवार्य बिदा बापतको भत्ता ३ लाख ९३ हजार ७५० रुपैयाँ प्राप्त गरेका छन्।
त्यसैगरी, सीइओलाई गाडी सुविधा बापत मासिक एक लाख ४० हजार रुपैयाँ प्रदान गरिने गरेको छ।
कम्पनीका संचालकहरूको बैठक भत्ताबापत २८ लाख ३८ हजार र मासिक भत्ताबापत २२ लाख ७० हजार ६६७ रुपैयाँ भुक्तानी गरिएको छ। लेखापरीक्षण तथा अन्य समितिहरूलाई बैठक भत्ताबापत ३० लाख ५८ हजार भुक्तानी गरिएको छ।
प्रवन्धक र अन्य उच्च पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधा बापत ८ करोड ४२ लाख २८ हजार १३५.२६ रुपैयाँ भुक्तानी गरिएको छ।