‘प्राधिकरणमा अध्यक्ष को छ भन्दापनि प्राधिकरणले काम कसरी गर्छ भन्ने कुरा ठूलो हो ’
काठमाडौं । हामी सबै मिलेर बीमा क्षेत्र र बीमा व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउँने हो। बीमा व्यवसाय मात्र नभएर बीमितको हक हितको सुरक्षा पनि तपाई हाम्रो कर्तव्य हो। मेरो मान्यता के छ भने बीमितहरू अप्ठ्यारोमा परेका र मर्कामा परेका मुद्दाहरूलाई प्राथमिकता दिइनुपर्यो।
जबसम्म बीमा गर्दा र नगर्दाको अवस्थाबारे आम मानिसमा गहिरो प्रकाश पार्न सकिँदैन तबसम्म तपाई हामी निरन्तर लागि पर्नुपर्छ। यसका लागि सबैभन्दा पहिला बीमितले नै आफू संरक्षित र सुरक्षित भएको महसूस गर्नुपर्छ र हामीले गराउन सक्नुपर्छ। यो गर्न सकिएन भने बीमा गराउनेले यत्रो दुःख पाएको रहेछ म किन बीमा गर्नू? गर्दिन्नँ भनेर तर्किने गर्छन्। यो अवस्थालाई तपाई हामी मिलेर चिर्नुपर्छ। कागजी प्रक्रियामार्फत् मात्रै होइन बीमितको अन्तरात्मामै त्यो भावना जगाउन सक्नुपर्छ।
बीमितलाई परेको मर्कालाई तपाई हामीले आफूलाई परेको मर्का सम्झेर त्यसको समाधानतर्फ अघि बढ्ने बानीको विकास गर्नुपर्छ। तपाई हामी बीमितको बीमासँग सम्बन्धित हरेक समस्याको समाधान गर्ने ठाउँमा छौं। तपाईहरू आफ्नो ठाउँबाट सक्दो प्रयत्न गर्नुहोस् तपाईहरूलाई पनि केही समस्या छ भने खुलस्त रूपमा मलाई भन्न सक्नुहुन्छ। म तपाईहरूको समस्या सुन्न र माग सम्बोधन गर्न सधैं तत्पर अवस्थामा छु। व्यस्त समयको बावजूद पनि म तपाईहरूको हरेक समस्या सुन्न तयार छु।
अर्काे एउटा कुरो के छ भने बीमालाई बाहिरबाट हेर्ने दुष्टिकोण अलि फरक छ। यसलाई पनि हामीले चिर्न सक्नुपर्छ। यो दुष्टिलाई हामीले परिवर्तन गर्ने कि नगर्ने भन्ने कुरो तपाई हामीमै भर पर्छ।
अध्यक्ष परिवर्तन भएर आत्तिनुपर्ने अवस्था होइन, बीमा प्राधिकरणले आफ्नो अध्यक्ष जसरी पनि पाउँछ। प्राधिकरणमा अध्यक्ष को छ भन्ने भन्दापनि प्राधिकरणले काम कसरी गर्छ भन्ने कुरा मुख्य हो।
म मुद्दालाई प्रभाव पार्ने केही पनि काम गर्दिन्नँ। तपाईहरूको बीमासँग सम्बन्धित केही समस्या छ भने ढुक्क भएर भन्नुहोस्। तपाईले सिधै मलाई भन्न नसकेपनि आफ्नो शाखा प्रमुख नभए सुपरभाइजरसँग समस्या राख्नुहोस्। केही परिहालेको खण्डमा त म छ्रँदै छु।
सेवा सुविधाको कुरा गर्दा पहिलो संस्थालाई उच्च बनाउनेतर्फ लागौं। संस्थाको स्तर अनुसार सेवा सुविधा त परिवर्तन हुन्छ नै। हामी सबैले आ–आफ्नो क्षेत्र र स्थानबाट बीमा व्यवसायलाई अघी बढाउन सक्दौ प्रयत्न गरौं ।
(नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले कार्यभार सम्हाल्दै गर्दा कर्मचारीहरुलाई दिएको अभिव्यक्ति )