घुस सेटिङमा नक्सा पास नगरी महानगरभित्र ठडिंदै व्यापारिक भवन, काठमाडौं भ्यु टावरबाट खुल्यो थप रहस्य
काठमाडौं । काठमाडौं महानगरभित्र नक्सापास विनै धमाधम ठूला व्यापारिक एवं व्यवसायिक भवनहरु ठडिरहेको थप पुष्टि भएको छ । शंखधर उद्यान अर्थात् रत्नपार्क नजिकैको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं ‘भ्यू टावर’ले आधावुधी निर्माण भइसकेपछि घुस सेटिङमा नक्सा पास गरेको तथ्य सार्वजनिक भएसँगै काठमाडौं महानगरभित्र बनेका र बन्दै गरेका अधिकांश ठूला व्यापारिक भवनहरु मापदण्ड विपरीत ठड्याइएका पुष्टि भएको हो ।
विद्युतीय नक्सा पास प्रणाली छलेर काठमाडौं भ्यु टावरले नयाँ नक्सा स्वीकृत गराएको थाहा भएपछि अहिले काठमाडौं महानगरभित्र बबण्डर मच्चिएको छ । गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगर आएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रक्रिया पूरा नगरी काठमाडौं भ्यू टावरको नयाँ नक्सा स्वीकृत गरेको भन्दै उनीमाथि कारबाहीको डण्डा चलाउने सुरसार छ ।
हार्डकपिरहित विद्युतीय एपीबीएस प्रणालीमार्फत नक्सा पासको सबै प्रक्रिया अघि बढ्ने र विद्युतीय प्रणालीबाटै नयाँ नक्सा स्वीकृत हुने व्यवस्था भए पनि त्यो प्रक्रिया छलेर काठमाडौं भ्युटावरले हार्डकपिको फाइल विभिन्न शाखा घुमाउँदै प्रमुख प्रशासकीय अधिकृतकोमा लगेर स्वीकृत गराएको भेटिएको छ ।
महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार गएको वर्ष फागुन २२ देखि प्राविधिक कारणले रोकिएको नक्सा विद्युतीय प्रणालीमा ३० भदौमा मात्रै प्रमुख प्रशासकीय अधिकृतले शहरी व्यवस्थापन विभाग अर्थात् नक्सा शाखा प्रमुख हरिशचन्द्र लामिछानेलाई फरवाड गरेको देखिन्छ । र, प्रक्रिया त्यो भन्दामाथि बढेको देखिँदैन । तर, ठेकेदार कम्पनीले नक्सा पासको स्वीकृति लिएर काम अघि बढाउन लागेको जानकारी दिएपछि आफुहरु तिनछक् परेको प्रवक्ता मानन्धरले बीमापोष्टलाई बताए ।
विद्युतीय प्रणाली छलेर नयाँ नक्सा स्वीकृत गरिएसँगै यसमा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने आशंका गर्दै काठमाडौं महानगरले आन्तरिक रुपमा छानविन समिति गठन गरेर नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।
तर, कुन तहबाट छानविन गर्ने र कहाँ सिफारिस गर्ने भन्ने तजविजीको अधिकार भने महानगर प्रमुख अर्थात् मेयर बालेन्द्र साह (बालेन)लाई नै रहेको बताइएको छ । काठमाडौं भ्युटावरका हकमा प्रमुख प्रशासकीय अधिकृत नै मुछिएका कारण सो तहको नियमन गर्ने पहिलो निकाय मेयर नै भएको प्रवक्ता मानन्धरले बताए ।
उनले भने, ‘प्रमुख प्रशासकीयमाथि आफैंले छानविन गर्ने कि कार्यपालिका वा नगरपरिषदमा कुरा लैजाने मेयर साव’को जतिविजीमा छ । उहाँले छानविन गर्न आवश्यक ठान्नु हुन्छ कि के गर्नु हुन्छ उहाँमा निर्भर हुन्छ ।’ यसअघि हिल्टन होटल र बसेरा होटलको नक्सा पास तथा थापाथली चोकमा कांग्रेस नेता राजीव शाहले ठड्याएको भवन एवं अरनिको राजमार्ग छेवैमा मापदण्ड मिचेर जेसिजले ठड्याएको भवनबारे पनि यसरी नै आन्तरिक छानविन भएको र मामला ढिसमिस पारिएको बुझिएको छ ।
कारबाहीको डण्डा बालेनकै हातमा
प्रवक्ता मानन्धरका अनुसार सहरी व्यवस्थापन विमाग अर्थात् नक्सा शाखाले गर्ने भनेको आन्तरिक छानविन पनि मेयर बालेन कै हातमा हुन्छ । उनी भन्छन्, ‘मेयर बन्नुअघि उहाँ (बालेन) आफैं नक्साको जुरी बसिसकेको र स्ट्रक्चरल इन्जिनियरिङमा आफैं पारङगत भएका कारण उहाँ आफैंले सट्कट छरितो टिम बनाएर काम गर्ने गर्नु भएको छ । थप छानविन गर्नु पर्ने भए उहाँले कार्यपालिका र नगरपरिषदमा कुरा लैजानु हुन्छ । यो मामिला उहाँ आफैंले हेर्ने भएका कारण विभागीय प्रमुखहरु अनविज्ञ हुनसक्छन् । तर, प्रमुख प्रशासकीय अधिकृत भने बेखबर हुन मिल्दैन ।’
काठमाडौं २८ पुरानो बसपार्कस्थित २३ रोपनी जग्गामा भ्यु टावर निर्माण भइरहेको छ । टावर निर्माणका लागि २०७१ म जलेश्वर स्चछन्द बिकोई बिल्डर्स र काठमाडौं महानगरबीच सम्झौता भएको थियो । सोही वर्ष तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले भवनको शिलान्यास गरेका थिए । सम्झौता अनुसार पाँच वर्षमा भ्यु टावर निर्माण गरिसक्ने भनिएकामा अहिले पनि निर्माणाधीन नै छ ।
सुरुमा २९ तले बनाउने भनिएको भ्यूटावर २०७२ को गोरखा भूकम्पपछि संशोधन गरियो । र, १२ तला बनाउने भनिएको टावर अहिले आठ तलाभन्दामाथि निर्माण हुन सकेको छैन । यो टावर निर्माणले एकातिर लामो समयदेखि बसपार्कको सुविधा खोसेको छ भने अर्कोतिर मुलुककै जेठो अस्पताल वीर अस्पतालको सेवा प्रभावित बनाएको छ । वीर अस्पताल छेउको सडकमा बनेपा, पनौती, धुलिखेल चल्ने गाडी राखिँदा वीर अस्पतालका सेवा ग्राहीलाई सास्तीमात्रै भएको छैन उपचाररत विरामीलाई थप सकस हुने गरी ध्वनी प्रदूषणदेखि धुँवा र धूलोजन्य विषादी सोझै अस्पताल छिरिरहेको छ ।
खास कुरा के हो ?
२०७४ वैशाख ८ गते ठेकेदार कम्पनी र महानगरबीच भएको सम्झौता अनुसार २०७३ वैशाख १३ मा महानगरले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । र, जस अनुसार दुई तला अण्डरग्राउण्ड रहनेगरी १२ तलाको निर्माण स्वीकृत गर्न स्वीकृति दिइएको थियो ।
तर, ठेकेदार कम्पनीले २०८० कार्तिक १ गते म्याद थप नक्सा पासको निवेदन दिँदा नक्सा संशोधनसहितको माग फारम भरेको देखियो । तर, २०७४ वैशाख ८ मा भएको सम्झौताविपरीतको नक्सा स्वीकृत नहुने भन्दै महानगरले संशोधन प्रक्रिया रोकिदिएको थियो । र, जुन विद्युतीय प्रणालीमा गएर अड्किएकोमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले टेबुलबाटै नक्सा स्वीकृत गरेको बुझिएको छ ।
यो पनि,
थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास’