साढे २२ हजारले पाउने गार्डियन माइक्रो लाइफको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल एक दुई दिन भित्रै आइपीओ बाँडफाँटको तयारीमा जुटेको हो । सम्भव भएसम्म भोलि (सोमबार) र मंगलबार नै बाँडफाँट हुने जनाइएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो हुने भएको छ । कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो। जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ ।
उक्त आइपीओमा २२ हजार ५०० जनाले १०।१० कित्ता दरले आइपीओ हात पार्नेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।