लाभांश र मर्जर प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा यही पुस २८ गते आइतबार बस्ने भएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले मोरङ्गको कटहरी–२ स्थित कम्पनीका आफ्नै केन्द्रीय कार्यालयमा सभा बस्ने निर्णय गरेको हो।
सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण र ४ जना सञ्चालकको निर्वाचन गरिनेछ।
बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयधरनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।