त्रिवि कर्मचारी संघ रत्नराज्यलक्ष्मी क्याम्पसः करार कर्मचारी स्थायीकरणदेखि सेवा सुविधासम्मका माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ रत्न राज्यलक्ष्मी क्याम्पस इकाई समितिले आफ्ना मागहरू तत्काल पूरा गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनलाई आग्रह गरेको छ। समितिले विगतदेखि थाती रहेका कर्मचारीसम्बन्धी विभिन्न समस्या समाधान गर्दै सबै कर्मचारीको हकहित सुनिश्चित गर्न जोडदार माग गरेको हो।
समितिले वर्षौंदेखि करारमा कार्यरत कार्यालय सहयोगी र सवारी चालकजस्ता कर्मचारीलाई स्थायी बनाउन, स्वास्थ्य सेवा ऐनअनुसार कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीहरूको स्तरवृद्धि तुरुन्त लागू गर्न र रिक्त दरबन्दीहरूमा छिट्टै विज्ञापन खोल्न माग गरेको छ।
यस्तै, लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीहरूको पदोन्नति सुनिश्चित गर्न र सेवाबाट निवृत्त हुँदा संचित विशेष तलवी बिदाको रकम उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको भनाइ छ। विगतमा खोसिएका सेवासुविधाहरू पुनः सुचारु गर्दै ज्यालादारी र ज्यामी कर्मचारीहरूको समस्या समाधान गरी सेवाको स्थायित्व सुनिश्चित गर्न पनि जोड दिइएको छ।