उत्पादमूलक क्षेत्रमा लगानी विस्तारमा बीमा कम्पनीहरूको जोड
काठमाडौं । बीमा कम्पनीहरूले उत्पादमूलक क्षेत्रमा लगानी वृद्धि गर्न थालेका छन् । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गरी कृषि, ऊर्जा, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेपछि कम्पनीहरुले लगानीको दायरा बढाउन लागेका हुन् ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरूले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा ११ अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन् ।
=यसमध्ये जीवन बीमा कम्पनीहरूको १० अर्ब २५ करोड र निर्जीवन बीमा कम्पनीहरूको ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आवको पहिलो त्रैमाससम्ममा भने बीमा कम्पनीहरूले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा ७ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।
एक वर्षको अवधिमा कम्पनीहरूको लगानी करीब ५० प्रतिशतले वृद्धि भएको हो । हाल सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीमध्ये ८ ओटाले यस क्षेत्रमा लगानी गरेका छन् । यसमा सबैभन्दा बढी राष्ट्रिय जीवन बीमा कम्पनीको ४ अर्ब ७७ करोड रुपैयाँ लगानी छ । यसैगरी १४ ओटा निर्जीवन बीमा कम्पनीमध्ये ५ ओटाले उत्पादन तथा पूर्वाधारमा लगानी गरेका छन् ।
तत्कालीन बीमा समितिले २०७५ चैतमा लगानी निर्देशिका संशोधन गर्दै कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयरका अतिरिक्त घरजग्गा व्यवसाय र जलस्रोत, कृषि, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेको थियो । निर्देशिकाअनुसार कम्पनीहरूले आफ्नो कुल टेक्निकल रिजर्भमध्ये वाणिज्य बैंकमा न्यूनतम ४० प्रतिशत, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकमा बढीमा २० र फाइनान्स कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । सरकारको बचतपत्र र ऋणपत्रमा ५ प्रतिशतसम्म, पूर्वाधार बैंकको मुद्दतीमा ४० प्रतिशतसम्म, घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र अग्राधिकार शेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यस्तै सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायत पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
कम्पनीहरूले पर्यटन तथा वायुसेवा क्षेत्रमा लगानी गर्न ड्यु डेलिजेन्स र सम्भाव्यता अध्ययन प्रतिवेदन, कृषिक्षेत्रका लागि ड्यु डेलिजेन्स, केबलकारका लागि १० वर्षको व्यावसायिक कार्ययोजना र घरजग्गा क्षेत्रमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ । यी क्षेत्रमा प्राधिकरणको स्वीकृतिपछि मात्र कम्पनीहरूले लगानी गर्न पाउँछन् ।
चालू आवको असोजसम्ममा जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ७७ अर्ब ५९ करोड र निर्जीवन बीमा कम्पनीको ६७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ।