टेलिकमको नाममा फर्जी अफरः क्रिसमस गिफ्ट दिने भन्दै ठगी धन्दा, सतर्क रहन आग्रह
काठमाडौँ । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलाइएको पाइएको छ। नेपाल टेलिकम क्रिसमस गिफ्ट नाममा पुरस्कार जित्ने प्रलोभन देखाएर शङ्कास्पद लिङ्कहरू वितरण गरिँदै आएको हो।
यस प्रकारका लिङ्कहरूमा क्लिक नगर्न उपभोक्तालाई टेलिकमले सचेत गराएको छ । सामाजिक सञ्जालमा फैलिएका यस्ता लिङ्कहरूले प्रश्नहरूको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरेका छन्। थप विश्वासिलो देखाउन फर्जी प्रयोगकर्ताहरूले पुरस्कार पाएको नक्कली विवरण पोस्ट गरेका छन्। यद्यपि, यो लिङ्क नेपाल टेलिकमको आधिकारिक वेबसाइट वा डोमेनसँग सम्बन्धित नरहेको स्पष्ट भएको छ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले टेलिकमले क्रिसमसका लागि कुनै अफर ल्याएको नभएको जानकारी गराएका छन्। ढकालले टेलिकमका योजनाहरूबारे जानकारी लिन कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न आग्रह गरे। उनले यस्ता झुटा अफरहरूमा पर्न नचाहने उपभोक्ताहरूलाई सतर्क रहन सुझाव दिए।
साइबर सुरक्षा विशेषज्ञहरूले शङ्कास्पद लिङ्कमा क्लिक नगर्न र अनधिकृत डोमेनहरूबाट टाढा रहन सुझाव दिएका छन्। लिङ्कमा क्लिक गर्दा आफ्नो मोबाइलमा रहेका गोप्य सूचना तथा बैंकिङ एप अरुको पहुचमा जाने खतरा हुन्छ ।